News 24 Television
रेशम–रञ्जिता वारपारको लडाईमा, दाउ कुर्दै माधव (भिडियो)

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनमा नागरिक उन्मुक्ति पार्टीभित्रको अन्तरविरोधकै कारण दुई जनाले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । 

नाउपाभित्र पति पत्नीबीचको विवादले चरम रुप लिएपछि त्यहाँको राजनीति नराम्ररी विथोलिन पुगेको छ । यस्तो अवस्थाका बीच के सुदूरपश्चिममा नयाँ सरकारको गाँठो फुक्ला ? 

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका दुई सांसदले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेश गरेपछि नाउपाभित्रको विवाद थप झाङ्गिएको छ । 

नाउपामा पार्टीकी संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीबीचको विवाद उत्कर्षमा पुग्दा सत्ता समिकरणमा नयाँ तरङ्ग पैदा भएको छ । 

नागरिक उन्मुक्ति पार्टीमा रञ्जिता पक्षधर कैलाश चौधरीले नाउपाका ६ सांसद समेटेर एमालेका १०, माओवादी केन्द्रका १० र स्वतन्त्र १ गरि २७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

यता, रेशम चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीले नाउपासहित नेकपा एसका ४ र कांग्रेसका १८ सांसदको समर्थनमा दाबी पेश गरेका छन् । 

पार्टीभित्रको आन्तरिक द्वन्द्ध र दुई सांसदको दाबीले सुदूरपश्चिममा थप संकट आउने आशंका गर्न थालिएको छ ।  

रञ्जिताको अर्थपूर्ण सक्रियता

पार्टीकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेश गरेपछि रञ्जिता श्रेष्ठ चौधरी कैलाली पुगेर प्रदेश प्रमुखलाई भेटेकी छन् । सत्ता गठबन्धनको निर्णय अनुसार नाउपाका कैलाश नै मुख्यमन्त्री बन्ने दाबी गर्दै सुदूरपश्चिम पुगेकी रञ्जिताले कैलाशलाई नै मुख्यमन्त्री बनाउन सक्षम होलिन ? प्रश्न र आशंका छ । 

नाउपाभित्रको विवाद चरम बनिरहेको छ । रञ्जिताले धमाधम कारबाही गर्ने र उनको कारबाही सदर नहुने स्थिति समेत देखा परिरहेको छ । रञ्जिताले समानुपातिकतर्फबाट सांसद बनेकी इन्दिरा गिरीलाई गरेको कारबाही सर्वोच्चले रोक लगाइसकेको छ । 

यस्तोमा सुदूरपश्चिममा रेशम पक्षधर सांसद ५ र रञ्जिताको पक्षमा २ सांसद हुने स्थिति बनेको छ । यसले पनि रञ्जिता दबाबमा पर्ने देखिन्छ । तर, उनको सक्रियता केन्द्रको सत्ता गठबन्धन अनुसार नै अघि बढ्ने गरि अघि बढ्नेमै केन्द्रित छ ।  

सुदूरपश्चिमको सत्ता दाउपेच

सुदूरपश्चिममा संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकार गठन आह्वान गरिएकोमा विवाद थप भयावह बन्ने संकेत देखिन थालेको छ । 

यस्तोमा अब एउटै पार्टीका दुई सांसदले गरेको मुख्यमन्त्रीको दाबी पेशलाई सभामुखले कसरी निर्णय गर्छन भन्ने विषय समेत प्रतिक्षामा छ । प्रदेश प्रमुखले व्यक्ति–व्यक्ति बोलाएर सनाखत गर्ने गरि नै तयारी थालेको बताइन्छ । दाबी पेशमा आवश्यक परामर्श र छलफल भने गरिने प्रदेश प्रमुखको सचिवालयको भनाई छ ।

संकटमा बार्गेनिङ

सत्ता दाउपेचका कारण नेकपा एकीकृत समाजवादी समेत अक्क न बक्क परिरहेको छ । केन्द्रमा प्रचण्डलाई समर्थन गरेको नेकपा एस सुदूरपश्चिममा भने अन्योलमै देखिन्छ । 

केन्द्रको सत्ता समिकरण बन्दा आफ्नो पार्टीले मुख्यमन्त्री पाउने सहमति बनेको तर कार्यान्वयन नभएको असन्तुष्टी नेकपा एसभित्र छ । 

यसैको रिसमा उसले कांग्रेससहितको गठबन्धनलाई सघाएको देखिन्छ । तर, माधव नेपाल सम्पर्कमै रहेकाले उनीहरुको समर्थन कायम नरहन सक्ने सम्भावना पनि कायमै छ । 

सत्ता संकट गहिरिएपछि बार्गेनिङ पावरलाई सशक्त बनाउदै लगिरहेको नेकपा एस पनि अन्योलतामै छ । नेकपा एस आफ्नो पार्टीलाई सत्ताको भ¥याङ मात्रै बनाउन खोजिएको भन्दै आक्रोशित देखिन्छ । तर, केन्द्रको गठबन्धन अनुसार नेकपा एस चल्ने स्थितिमा जाला ? शंकासहित बार्गेनिङ पनि बढिरहेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update