News 24 Television
माधव नेपालप्रति ओलीको आक्रोश- 'दक्षिणपन्थी अवसरवादी चरित्र नांगो रुपमा प्रकट भयो'

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई कमजोर बनाउने कदम चालेको भन्दै नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने बेलामा काँग्रेस निकट भएमात्रै नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्रीमा सहयोग गर्न सकिने भनि माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले चालेको कदम अराजनीतिक प्रवृत्तिको भएको भन्दै आक्रोश पोखका हुन् । 

सोमवार पार्टी संसदीय दलको बैठकमा बोल्दै उनले काँग्रेस नजिक भएर सत्ता समिकरणलाई कमजोर र असफल बनाउन नेकपा एसले अराजनीतिक निर्णय लिएको आरोप लगाएका छन् । उनले सुदूरपश्चिम प्रदेशमा काँग्रेस केन्द्रित समिकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन गर्ने नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगबाट प्रकट भएको जिकिर गरे । 
‘अराजनीतिक प्रवृत्ति बहुतै हावी भएको छ । हिजो मात्रै एस भन्ने पार्टी छ एउटा,’ ओलीले भने, ‘त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नागरिक उन्मुक्तिलाई दिन नसक्ने, हामीभन्दा पृथक हुने हो भने अर्को गुटबाट जाने र काँग्रेससँग नजिक भएर काँग्रेसलाई जिताउने हिसाबले जाने हो भने यो समिकरणलाई कमजोर बनाउने, यसलाई असफल बनाउने हो भने नागरिक उन्मुक्तिलाई पहिलो कार्यकाल दिन पनि सहमत हुने । अथवा निःशुल्क सेवा पनि नागरिक उन्मुक्तिको गर्नसक्ने भनेर हिजो मात्रै प्रधानमन्त्रीको दावी गर्ने, मुख्यमन्त्रीको दाबी गर्ने कुरा थियो, सुदूरपश्चिममा । त्यसका एकीकृत समाजवादी के नामको पार्टी, त्यसले त्यस प्रकारको अराजनीतिक निर्णय लियो ।’

 राजनीति सही दिशामा फर्किने बेला अहिले काँग्रेस लगायतका विपक्षहरुको आशा पलाउने तथा जनतामा आशंका, अन्योल र निराशा केही मात्रामा भए पनि पैदा हुनेगरी नेकपा एसले सो निर्णय लिएको ओलीको भनाइ छ । उनले भने, ‘यतिबेला आन्तरिक रुपमा त्यसमा विपक्षहरुको आशा पलाउने गरी जनतामा आशंका, अन्यौल र निराशा केही मात्रामा भएपनि पैदा हुनेगरी त्यस पार्टीले कदम चाल्यो । आन्तरिक रुपमा त्यसका बोली, व्यवहार, बार्गेनिङ सबै त्यस्तै खालको थिए । तर हिजो बाहिर नै प्रकट भयो । यस समिकरणबाट नागरिक उन्मुक्ति पार्टीलाई समर्थन नगर्ने । काँग्रेस केन्द्रित समिकरणबाट नागरिक उन्मुक्तिलाई समर्थन गर्ने । एस पार्टीको दक्षिणपन्थी अवसरवादी चरित्र धेरै नांगो ढंगले प्रकट भयो । यस्तो नहुनुपर्ने थियो । कम्युनिष्ट साईनबोर्ड राख्ने, नेकपा राख्ने अगाडि । र काम चाहीँ अरुको हितमा गर्ने र समाजवादको पक्षधरहरुलाई कमजोर पार्ने खालको भुमिका बाहिर देखियो । सडकमा देखियो । यसैले कुनै फरक पार्नेवाला छैन ।’

आफू भने समाजवादको आधार तयार पार्ने, समृद्ध नेपाल ः सुखी नेपालीको गन्तव्यमा पुग्ने लक्ष्यमा रहेको ओलीले बताए । ‘यसमा हामी अगाडि जाने, त्यो गन्तव्यमा पुग्ने, त्यसका लागि हामीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा विकास गर्ने भनेका छौं । यो चिजहरु हामी बिर्सदैनौं । हरेक जङचरमा यी कुराहरुलाई अगाडि बढाएर लिएर जान्छौं । हाम्रो ध्यान अव मिसन २०८४ लाई सफल बनाउनेमा छ,’ उनले भने ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update