News 24 Television
गठबन्धनमा हेपिएपछि माधव नेपालले देखाए ‘पावर’

काठमाडौँ । सत्ता समीकरण बनेको लामो समय बित्न नपाउदै विवाद सिर्जना भएको छ । एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धनमा सहभागी दल नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीलाई किनाराकृत गर्न खोजिएको भन्दै आक्रोश पोख्न थालेपछि गठबन्धन लामो समय टिक्ला त ? शंका छ । 

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले सत्ता समीकरणमा कांग्रेसलाई मात खुवाएको विषय छोटो समयमै विवादको घेरामा परिरहेको छ । गठबन्धन भन्ने कि समिकरण भन्नेमै अल्झिएको सत्ता सहकार्यमा उत्साहित देखिएका एमाले अध्यक्ष केपी ओलीले लामो समय सोच विचार गरेर निर्माण गरिएको भन्दै यसको रक्षा गर्नुपर्ने दाबी गरिरहेका छन् । 

ओलीले झैं देशलाई निकास दिन पद सुरक्षित हुँदा हुँदै पनि आफूले समिकरण फेरेको दाबी प्रधानमन्त्री प्रचण्डले पनि गरिरहेका छन् । 

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको सहकार्य तोड्नेबारे यस्ता थुप्रै प्रष्टीकरण दिने गरेका छन् । यसमा प्रचण्डले पार्टीको आन्तरिक कार्यक्रममा समेत सोच विचार गरेरै गठबन्धन बदलिएको दाबी गरेका थिए । गठबन्धन फेर्ने विषयमा प्रचण्डको संकेत एमालेसहित वामपन्थी एकता र सहकार्यको विषय नै रहेको दाबी गर्ने गरेका थिए । 

सत्ताका प्रमुख घटक दल एमाले–माओवादी केन्द्रबीच यसरी सार्वजनिक रुपमै सहकार्यको प्रशंसा चलिरहेको बेला नेकपा एकीकृत समाजवादीले भने सुदूरपश्चिम प्रदेशबाट विद्रोहको संकेत देखाएको छ। नेकपा एसले गठबन्धनले धोका दिएको भन्दै फरक कदम चालिरहेको दाबी गरिरहेको बेला एमाले अध्यक्ष केपी ओलीले कडा टिप्पणी गरेका छन् । नेकपा एसलाई अवसरवादी चरित्र बोकेको पार्टीको संज्ञा समेत दिएका छन् । 

सुदूरपश्चिमको संयोग

तत्कालीन समयमा एमालेसहितको गठबन्धन भत्किनेक्रम पनि सुदूरपश्चिम प्रदेशबाटै शुरु भएको थियो । त्यो बेला नागरिक उन्मुक्ति पार्टीेले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत नदिएपछि कांग्रेसका कमलबहादुर शाहले सत्ताको नेतृत्व गर्दै प्रदेशबाट पुनरागमनको स्थिति बनेको थियो । त्यसपछि विस्तारै सत्ता गठबन्धनको माहोल फेरिएको थियो । ठिक त्यसैगरि अहिले पनि सत्ता गठबन्धनमा संकट सुदूरपश्चिम प्रदेशबाटै नागरिक उन्मुक्ति पार्टी र नेकपा एसबाट शुरु भएको छ । 

नाउपा दुई चिरा बनेको छ भनेर नेकपा एसले कांग्रेसलाई समर्थन गरेको छ । तर, आफूले मुख्यमन्त्री लिएर नभइ गठबन्धनको झोक फेर्न खोजिएको जस्तो मात्रै हुने गरि कदम चालिएको छ । यसले पनि सत्ता गठबन्धनमा खटपट आएको बुझ्न सकिन्छ । 

ओलीका दिक्दारी

सत्ता समिकरण बनाएपनि एमाले नेतृत्वले गतिला भनिएका मन्त्रालयको जिम्मेवारी लिने गरि अडान लिएन् । यस्तो अडान नलिएपछि एमालेमाथि कडा रुपमा बहस चल्यो । एमालेले वामपन्थी एकताको पहलका लागि कदम चालेको भनियो पनि । तर, त्यहि नेतृत्व अहिले दिक्दारी पोख्न थालेको छ । एमाले अध्यक्ष ओली नै वामपन्थी एकताले देश र सरकार नबन्ने भन्दै कडा प्रतिक्रिया दिएका छन् । 

वामपन्थी एकताको विषयलाई लिएर हौसिएकाहरु ओलीको अभिव्यक्तिबाट तर्सेका छन् । हुनतः सुदूरपश्चिममा माधव नेपाल नेतृत्वको पार्टीले गरेको व्यवहारमाथि प्रहार गर्ने क्रममा ओलीको यस्तो अभिव्यक्ति आएको दाबी गर्न थालिएको छ । तर, ओलीले सत्ता सहकार्यमा नयाँ कदम चाल्न खोजिरहेको समेत गाइगुई चल्न थालेको छ ।  
 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update