News 24 Television
प्रचण्ड–माधवको हतारोमा ओलीको मौनता, होला त वामपन्थी एकता ?

काठमाडौँ । कांग्रेससँगको गठबन्धन तोडेर एमाले–माओवादी–एकीकृत समाजवादी सम्मिलीत सत्ता समिकरण बन्दा नेताहरुले यसलाई वाम एकताका लागि कोर्ष करेक्सनको बाटो खुलेको बताएका थिए । सत्ता समिकरण बनेको डेढ महिना बित्नै लाग्यो, तर त्यतिबेला नेताहरुले व्याख्या गरेजस्तो वाम एकताको माहोल देखिँदैन । बरु सत्ता दाउपेचको कोपभाजनमा पार्न खोजिएको भन्दै नेकपा एस चिढिएको छ । यता, एमाले अध्यक्ष केपी ओली पनि वामपन्थी एकता भनेर देश र पार्टी नबन्ने भन्दै निर्मम पेश हुन थालेका छन् । 

वर्तमान सत्ता साझेदारीमा माओवादी अध्यक्ष प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल मुख्य हिस्सेदार छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र जनता समाजवादी पार्टी जसपा समेत गठबन्धनमा समावेश भएपनि माओवादी नेताहरु यसलाई वाम सरकारका रुपमा चित्रित गर्छन् । गत फागुन २१ गते यो समिकरणको निर्माण हुँदा माओवादी केन्द्रका सचिव समेत रहेका देवेन्द्र पौडेलले वाम एकताको कोर्ष करेक्सन सुरु भएको बताएका थिए । 

एमालेसँग सहकार्य गर्ने प्रधानमन्त्रीको निर्णय चित्त नबुझाएको नेकपा एकीकृत समाजवादी समेत वाम एकताको आशामा सरकारमा समेटियो । कांग्रेससँग मिलेर वैकल्पिक गठबन्धनको प्रयास गर्न खोजेका माधव नेपालले वाम एकताका नाममा प्रचण्ड ओलीको साथ दिएका थिए । 

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले त्यसयता लगातार वाम गठबन्धनको रटान लगाउँदै आए । प्रधानमन्त्रीले आफ्ना हरेक सम्बोधनमा वर्तमान गठबन्धनलाई वाम गठबन्धनका रुपमा वर्णन गरेका छन् । 

यता नेकपा एमालेले भने यो सत्ता सहकार्यलाई गठबन्धन भन्न रुचाउँदैन । अध्यक्ष ओलीले, अहिले सत्ता समिकरण मात्र बनाइएको, गठबन्धन नरहेको भन्दै प्रष्टीकरण दिने गरेका छन् । 

२०७४ को निर्वाचनमा बनेको वाम गठबन्धन, पछि पार्टी एकतासम्मै पुगेको थियो । तर शक्ति संघर्षका कारण नेकपा तीन टुक्रामा विभाजन भयो । २०७९ को आम निर्वाचनपछि नेकपा एमाले बलियो शक्तिका रुपमा रहेपनि माओवादी र एकीकृत समाजवादी भने निक्कै खुम्चिए । कमजोर बनेका प्रचण्ड–माधव अहिले फेरि पुरानै वाम गठबन्धनमा फर्कन चाहन्छन्, तर ओली उनीहरुलाई सँगै लिएर हिँड्न डाराइरहेका छन् । यस्तोमा वाम एकताको कुरा अहिले प्रचण्ड माधवको दिवास्वप्न मात्र भएको वाम विश्लेषक देवि ओझा बताउँछन् । 

नेताहरुले वाम एकताको कोर्ष करेक्सन बताएको वर्तमान समिकरणलाई ओलीले किन स्वीकार गर्न सकिरहेका छैनन् त ? वास्तवमै ओलीले प्रचण्ड–माधवलाई बोकेर हिँड्न नचाहेका हुन् अथवा सत्ता समिकरण दिगो हुँदैन भन्ने बुझाइका साथ कांग्रेससँग सहकार्यको बाटो खुला राख्न चाहेका हुन्, आशंका बढ्दो छ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update