News 24 Television
सहकारी प्रकरण : बुटवलमा रविविरुद्ध प्रदर्शन, अब के होला ?

काठमाडौँ । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले पनि अवैध रकम लिएको दाबीसहित प्रहरीले उनलाई प्रतिवादी नबनाएपछि विभिन्न प्रश्न उठेका छन् । रविले आफू सहकारी प्रकरणमा कतै पनि संलग्न नभएको दाबी गर्दै गर्दा उनले रकम लिएको प्रष्ट रुपमा प्रहरीले नै भनेपछि उनीमाथि मात्रै नभएर सिंगो राज्य संयन्त्रमाथि नै प्रश्न उठेको छ । 

सहकारी ठगी प्रकरणमा धेरै पहिले देखि आरोप लाग्दै आएको नाम हो, रवि लामिछाने । रविले गितेन्द्रबाबु राई (जीबी)सँगको सहकार्य गर्दा सहकारी ठगीमा संलग्न रहेको भन्दै आरोप लागेपनि उनले आफूमाथिको यस्तो आरोप अस्वीकार गरिरहे । आरोप अस्वीकार गर्नेक्रममा उनले एक कदम अघि नै बढेर रकम आएको गएकोदेखि ल्याप्चेका कुरा उठाउदै लिए्को भए तिर्न पाउँ भन्दै जंगिए ।

रविले सहकारी ठगीको आरोप अस्वीकार गरेपनि प्रहरीले अनुसन्धान गरिरहेको थियो । त्यसपछि प्रधानमन्त्री प्रचण्डले आकस्मिक रुपमै गठबन्धन फेरे र रवि उपप्रधानसहित गृहमन्त्रीको जिम्मेवारीमा आए । रवि गृहमन्त्री बनेपछि प्रमुख प्रतिपक्ष बनेको नेपाली कांग्रेसले रविविरुद्ध सहकारी ठगी प्रकरणको आरोप लगाउदै संसदीय समितिको माग राख्न थाल्यो । 

कांग्रेसले निरन्तर रविविरुद्ध संसदीय समितिको माग राख्न थालेपछि संसदको रोस्टममै उभिएर प्रधानमन्त्री प्रचण्डले उनलाई क्लिन चिट दिने कोसिस गरे ।

प्रधानमन्त्रीले क्लिन चिट दिएकै केहिदिनमा संसदीय समितिमा पनि रविविरुद्ध प्रश्न उठ्यो । त्यसपछि रवि आफैले पनि यसको जवाफ कड्किएरै दिए । 

रविको जवाफसँगै प्रहरी महानिरिक्षक बसन्तबहादुर कुँवरले पनि रविविरुद्ध ठाडो उजुरीबाहेक कुनै पनि प्रमाण नभेटिएको दाबी गरे ।

त्यसपछि कांग्रेसले संसदमा निरन्तर अवरोध गर्दै रविमाथि संसदीय समितिको माग गरिरहेपछि सत्ता पक्षले कांग्रेसमाथि अनेक आरोप र लान्छाना लगायो । 

यसरी विवाद र सत्ताको कोपभाजनमा परेको संसद अन्त्य भइसकेको छ । तर, सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धानमा रवि लामिछानेको खातामा रकम जम्मा भएको प्रमाण र किस्ता तिरेको प्रमाणसहितको प्रहरीको प्रतिवेदन छ । यस्तो विषय सार्वजनिक भएपछि रवि नैतिक दबाबमा परेपनि के उनलाई सत्ताले अझैं क्लिन चिट दिने गरि बोक्ला ? प्रश्न र आशंका छ ।

सडकमा रविविरुद्ध आन्दोलन

बुटवलको सुप्रिम सहकारीका पीडितले गृहमन्त्री समेत रहेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध प्रदर्शन नै गरेका छन् । रविमाथि छानविन हुनुपर्ने माग राख्दै उनीहरु सडकमा प्ले कार्ड नै बोकेर आन्दोलनमा उत्रिएका हुन् । हजारौं जनताको लाखौं रकम अपचलन भएपनि सरकारले अपचलमै संलग्नलाई च्यापेर बसेको भन्दै पीडित सडकमा उत्रिएका हुन् । उनीहरुले न्याय नपाउन्जेल आन्दोलन जारी रहने समेत बताएका छन् । 

यद्यपि केही समय पहिले पनि रास्वपाले पदयात्रा भन्दै थालेको अभियानको क्रममा रवि बुटवलमै पीडितको घेराबन्दीमा परेका थिए । त्यो बेला उनी मिलाएर फर्किएको बताइन्छ । यद्यपी अहिले सरकार र प्रहरी नेतृत्वले केहि छैन भन्दा भन्दै पनि उनले अवैध रकम लिएको पुष्टी भएपछि भने चौतर्फी रुपमा दबाब बढ्न थालेको छ ।

सुशासनको नारामै प्रश्न

सुशासन कायम गराउने पहिलो दायित्व हो भन्ने सरकार गम्भीर आरोप खेप्दै अघि बढिरहेको छ । सहकारी ठगी प्रकरणमा अवैध रकम लेनदेनको आरोपमा मुछिएका रवि लामिछानेलाई बोक्न सरकारले मोलेको जोखिम र रविविरुद्ध पर्याप्त प्रमाण हुँदा हुँदै पनि प्रतिवादी बनाउन हच्किएको प्रहरीमाथि समेत प्रश्न उठेको छ । 

सुशासन रास्वपाको पहिलो कदम भन्दै कुनै बेला सांसद ढाकाकुमार श्रेष्ठमाथि ७२ घण्टे उर्दीसहित कारबाही गरेका रवि लामिछानेले अब के गर्लान ? प्रश्न उनीतर्फ र उनको दलतर्फ सोझिएको छ । रकम जम्मा गर्ने कर्मचारीविरुद्ध अभियोजन गरिदा पनि रविलाई प्रतिवादी नै नबनाइएको भन्दै आक्रोश भने सतहमै देखिने गरि विरोध हुन थालेको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update