News 24 Television
सुप्रिम सहकारी हिनामिना : अर्बौं ठग्नेहरूको नालीबेली

काठमाडौँ । बुटवलको सुप्रिम सहकारीको झण्डै एक अर्ब रुपैयाँ अपचलन गरेको अभियोगमा प्रतिवादी बनाइएका २८ जनाको मंगलबारदेखि थुनछेक बहस शुरु भएको छ । प्रतिवादीमध्ये डिफ्यूजन नोटिस जारी भएको महिनौं बित्दा पनि फरार रहेका सहकारी सञ्चालक गितेन्द्र बाबू (जीबि) राईको अत्तोपत्तो छैन । अभियोगपत्रमा रवि लामिछानेको नाम पनि उल्लेख छ । सहकारी बचतकर्ताहरूको रकम अनधिकृत रूपमा ग्यालेक्सी टिभीमा लगानी गरेको देखिएको छ ।
 
बुटवलस्थित सुप्रिम सहकारीबाट झन्डै पौने दुई अर्ब ठगी भएको ठहर गर्दै मुद्दा दायर भएको छ । २८ जनालाई मुख्य अभियुक्त बनाइएको मुद्दामा एक हजार २ जनालाई थप प्रतिवादी बनाइएको छ । रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको सेयरका लागि एक करोड ८० लाख र ऋणबापत् दुई करोड लिएको तथ्य देखाइए पनि उनलाई प्रतिवादी बनाइएको छैन ।

को–को हुन् प्रतिवादी ?

जीबी राई                 दीपक न्यौपाने            धिरजकुमार दास,
ओमप्रकाश गुरुङ      रोशनी गुरूङ            असरफ अलि सिद्धिकी
कुमार रम्तेल             सागर केसी               बुद्धि गुरूङ
दुर्गा पाण्डे                सुरज श्रेष्ठ                  दिनेश रोका
दीपेश पुन                 राजु बराल                आशिष आनन्द,
भविश्वर अर्याल           भूपेन्द्र राई,               मजहर मोहम्मद
नीता थापा                 देवेन्द्रबाबु राई,          लिगल ढुंगाना
मनप्रसाद गुरूङ        आशिष रानाभाट        हेमन्त अधिकारी
पौबहादुर गुरूङ        स्यान्ड्रिक राजभण्डारी  कविता तामाङ
नवीन अछामी ।

प्रहरीले सहकारीको रकम हिनामिना प्रकरणमा संस्थाका अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा एवं सहकारीका पूर्वकोषाध्यक्ष दीपेश पुन, भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाईं, दीपक न्यौपाने ,नीता थापा मगर र कुमार रम्तेललाई पक्राउ गरिसकेको छ । अन्यलाई फरार प्रतिवादी कायम गरिएको छ । अहिलेसम्म बचत हिनामिना भएको उल्लेख गरेर १ हजार ८ सय ३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दर्ता गराएका छन् । जाहेरी दर्ता गराउने पीडितको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । 

तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धानमा उल्लेख छ । गोरखा मिडिया नेटवर्क प्रालिको नाममा जीबीलाई १० करोड २० लाख रुपैयाँ पठाएको अभियोगपत्रमा उल्लेख गरिएको छ । 

सुप्रिम सहकारीबाट गोरखा मिडिया नेटवर्क, जीबी ग्रुप अफ कम्पनी प्रालि, नेचर नेष्ट प्रालि, गोर्खा गुप्र अफ कम्पनी प्रालि, ग्रेजी स्पोन रेष्टुरेन्ट प्रालि, नेक्सन म्युजिक बार प्रालि, नोबडी पोडक्सन प्रालि, मन्दरा स्पा एण्ड वलनेस सेन्टरलगायत लगानी भएको देखिन्छ ।  

कुन कम्पनीमा कति रकम लगानी ?

–    गितेन्द्रबाबु राई अध्यक्ष र रास्वपाका सभापति रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया नेटवर्क प्रालिमा १२ करोड १४ लाख ८४ हजार ८ सय ६०
–    जिबी ग्रुप एण्ड कम्पनी लिमिटेडमा १४ करोड ९९ लाख ५९ हजार ५ सय २०
–    स्प्रिङ उड रियल स्टेट हाउजिङ प्रालिमा १८ करोड २१ लाख ७८ हजार १ सय ८३ रुपैयाँ रकम 
–    राई सञ्चालक रहेको नेचर नेष्ट प्रालिमा २ करोड ८९ लाख ७१ हजार ८ सय ८५ 
–    गितेन्द्रबाबु राईको नाममा ६ करोड २० लाख ८८ हजार ४ सय ८९ रुपैयाँ 

त्यस्तै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था, नेपालगञ्जको समानता बचत तथा ऋण सहकारी, चितवनको सहारा चितवन बचत तथा ऋण सहकारी र वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्था पनि जीबि र उनको ग्याङको हो । जहाँबाट राईको ग्याङले लाखौँ बचतकर्ताको उठिबास लगाएका छन् । 

हजारौँ बचतकर्ताको रकम अपचलन गरी फरार रहेका राई र व्यवस्थापक लगायतलाई पक्राउ गर्नुभन्दा अनुसन्धान गर्ने निकाय गृहमन्त्रीको असंलग्नता देखाउन लागिपरेको भन्दै पीडितहरू प्रदर्शनमा उत्रिएका छन् । यस्तोमा सहकारीपीडितलाई न्याय दिन सरकार सजग र गम्भीर बन्न आवश्यक छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update