News 24 Television
प्रचण्ड एक्ल्याउन देउवाको जाल, केपीको इशारा कता ?

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग सत्ता सहकार्यका लागि आह्वान गरिरहेको छ, तर एमाले कांग्रेससँग सहकार्य गर्न तत्काल तयार देखिँदैन । 

विगतमा कांग्रेस सत्तामा हुँदा परिस्थिति ठिक उल्टो थियो । संसदको अंकगणितका कारण साना दलहरु अस्थिरताको कारक बनिरहेका छन् । 

यो चुनौतिलाई पन्छ्उँदै स्थिरता कायम गर्नका लागि कांग्रेस–एमाले सहकार्यको चर्चा चुलिएको छ । के छ त कांग्रेस एमाले सहकार्यको वास्तविक सम्भावना ? 

स–साना दलहरुलाई पाखा लगाउने, संसदको पहिलो दल नेपाली कांग्रेस र दोस्रो दल नेकपा एमाले मिलेर सरकार बनाउने । 

माओवादीबाट धोका पाएपछि नेपाली कांग्रेसको होमवर्क यसैमा केन्द्रित छ । संसदको तेस्रो दल नेकपा माओवादी केन्द्रले डेढ बर्षदेखि सरकारको नेतृत्व गरिरहको छ । 

एमालेको डर देखाएर कांग्रेसलाई तह लगाउने अनि कांग्रेसको डर देखाएर एमालेलाई तह लगाउने कला सिकेका प्रचण्डबाट कांग्रेस एमाले दुवै दिक्क बनेका छन् । 

नेपाली कांग्रेसका नेताहरुले त सार्वजनिक रुपमै एमालेसँग सहकार्यका लागि प्रस्ताव गरिरहेका छन् । 

नेपाली कांग्रेस कुनै पनि हालतमा प्रचण्डलाई सत्ताबाट बाहिर पठाउने कसरतमा देखिएको छ । 

हाल सदन र सार्वजनिक मञ्चमा गृहमन्त्री लक्षित आक्रामकता त्यसैको उपज रहेको विश्लेषण हुने गरेको छ । कांग्रेसमा प्रभावशाली मानिने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा कुनैपनि हालतमा रविलाई गृहमन्त्रीबाट हटाउने मिसनमा देखिएका छन् । 

रवि आउट भए वर्तमान सत्ता समीकरण भत्किने र सरकार गठनको नयाँ बाटो खुल्ने कांग्रेसको बुझाई छ । यतिमात्र होइन, नेकपा एकीकृत समाजवादीलाई पनि गठबन्धन भत्काउने अस्त्र बनाउन सकिन्छ भन्नेमा कांग्रेस विश्वस्त देखिएको छ । 

संसदको अंकगणित असजिलो हुँदा अस्थितरताले प्रशय पाइरहेको छ । प्रधानमन्त्री प्रचण्डले १५ महिनामा ३ पटक विश्वासको मत लिनुपरेको स्थितिमा अबको विकल्प कांग्रेस एमाले सहकार्य हो भन्नेमा सहमत देखिन्छन् । 

संसदीय व्यवस्थामा पहिलो र दोस्रो दल मिलेर सरकार बनाउने अभ्यास त्यति देखिँदैन । तर दलहरुले राजनीतिक चरित्रनै गुमाइसकेको वर्तमान अवस्थामा यो समीकरण असम्भव पनि देखिँदैन । 

प्रचण्डसँग सहज सत्ता सहकार्य गरिरहेको एमालेले तत्काल कुनै अस्थिरताको हतारो भने देखाएको छैन । प्रतिपक्षी कित्तामा रहँदा पटक–पटक कांग्रेसलाई सत्ता सहकार्यको प्रस्ताव गरेको एमाले सफल हुन सकेको थिएन । 

अहिले सोहि हविगतमा भएको कांग्रेसले एमालेलाई मनाउन सक्छ कि सक्दैन, त्यो भने हेर्न बाँकी छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०६:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update