News 24 Television
अस्तव्यस्त कोशीको समाधान के ? 

विराटनगर । सबैभन्दा पछि प्रदेशको नाम टुंग्याएको प्रदेश हो कोशी । पहिलो पाँच वर्षको अवधिमा प्रदेशको नामाकरणसमेत गर्न नसकेको यो प्रदेशले दोस्रो कार्यकालमा कोशी नामाकारण त ग¥यो तर असन्तुष्टिहरु उस्तै छन् । 

पहिचानको आन्दोलनसमेत चलिरहेको कोशी सबैभन्दा बढी अस्थिर छ । केन्द्रीय सत्ता समिकरणको फेरबदलले आक्रान्त बनेको कोशीमा रडाको उस्तै छ । प्रदेशसभाको विशेष अधिवेशनमा उस्तै दृष्यहरु देखिएका छन् । 

विहीबारदेखि कोशी प्रदेशको विशेष अधिवेशन शुरु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रका ५२ जना सांसदहरुको आग्रहमा प्रदेश प्रमुख परशुराम खापुङले बैशाख ६ गते विहीबार विशेष अधिवेशन बोलाएका हुन् । 

विशेष अधिवेशनमा एमाले र माओवादी केन्द्रले संकल्प प्रस्ताव पेश गरेका छन् । ती दलहरुले संंसदीय मूल्यमान्यता र नैतिकताका आधारमा संकल्प प्रस्तावमाथि छलफल हुनुअघि नै मुख्यमन्त्री केदार कार्कीलाई पदबाट राजीनामा दिन आग्रह गरिरहेका छन् । 

बिहिवारको प्रदेश सभा बैठकमा एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले संकल्प प्रस्ताव टेबुल गर्दै संविधानको धारा १६८ अनुसार बनेको जुनसुकै सरकारले आफु अल्पमतमा परेको थाहा पाएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संसदीय मूल्य मान्यता रहेको बताए । 

विश्वासको मत पनि लिन्न, राजिनामा पनि दिन्न भन्न नपाउने उनको भनाई छ ।


 
प्रमुख सचेतक भण्डारीले टेबुल गरेको संकल्प प्रस्तावलाई माओवादी केन्द्रका सांसद गणेश उप्रेती र नेकपा एमालेका प्रदेश सांसद किशोरचन्द्र दुलालले समर्थन गरेका थिए ।

प्रदेश सभा बैठकपछि कांग्रेस संसदीय दलका नेता एवम् नेपाली कांग्रेस कोशी प्रदेशका अध्यक्ष उद्धव थापाले संसदीय मुल्यमान्यताअनुसार आफुहरु संकल्प प्रस्तावमा छलफलका लागि तयार रहेको र विश्वासको मत लिने नलिने मुख्यमन्त्रीको स्वविवेकमा छोडिएको बताए । 

अहिले सरकार संकटमा परेको बेला सरकारलाई दलले सहयोग गर्ने थापाको भनाई छ । 

संकल्प प्रस्तावमाथि शुक्रवार छलफल भई मुख्यमन्त्रीलाई बैशाख २६ गतेसम्ममा विश्वासको मत लिन दबाब दिने विपक्षी दलहरुको तयारी रहेको छ । 

विपक्षी सांसदहरुले अल्पमतमा परेको सरकारले तुरुन्त मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।बिहिवार भएको प्रदेश सभा बैठकमा कांग्रेस र एकीकृत समाजवादीका २४ जना सांसदहरु सत्तापक्षमा बसेका थिए भने विपक्षमा नेकपा एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाका ५२ जना सांसदहरु बसेका थिए । कोशीको यो परिदृष्यले भने गठबन्धनमा नयाँ झल्को दिइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update