News 24 Television
कोशीको झमेला उस्तै, दलहरु भिडन्तको तयारीमा

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की राजनीतिक र संवैधानीक अन्यौलको भूमरीमा छन् । केन्द्रीय गठबन्धन परिवर्तन भएपछि संकटमा परेको कार्की नेतृत्वको सरकारलाई विस्थापित गर्न एमाले र माओवादी गठबन्धनले भरपुर प्रयास गरिरहेको छ । 

बिहिबारको प्रदेशसभा बैठकमा नेकपा एमालेले मुख्यमन्त्री कार्कीले मार्गप्रसस्त गर्नुपर्ने माग गर्दै संकल्प प्रस्ताव पेश गरेका छन् । चट्टानी अडानमा बसेका मुख्यमन्त्री कार्कीको अबको कदम के हुन्छ, चासोको विषय बनेको छ ।

गत असोज २७ गते तत्कालीन सत्ता गठबन्धनमै विद्रोह गरेर नेकपा एमालेको समर्थनमा कांग्रेस सांसद केदार कार्की मुख्यमन्त्री नियुक्त भएका थिए । 

तत्कालीन कांग्रेस माओवादी नेतृत्वको गठबन्धनले कार्कीको विद्रोहलाई समेत सदर गर्दै उनी नै गठबन्धनका मुख्यमन्त्री रहेको बताएका थिए । 

संविधानको धारा १६८ मा उल्लेखित, प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त हुने उपधाराहरुमध्ये अन्तिम उपधारा (५)को प्रयोग गर्दै नियुक्त भएका थिए । 

हाल केन्द्रीय सत्ता गठबन्धन परिवर्तन भएसँगै कार्कीलाई पदबाट राजिनामा गराउने प्रयासमा एमाले–माओवादी गठबन्धन छ । तर अन्तिम उपधारामार्फत आफु मुख्यमन्त्री नियुक्त भएकाले आफुले राजिनामा दिए मध्यावधि निर्वाचन हुनुपर्ने बुझाईमा मुख्यमन्त्री कार्की छन् । 

त्यसैले मध्यावधिबाट रोक्नका लागि आफु राजिनामा नदिने र विश्वासको मत समेत नलिने उनको अडान छ । 

नेकपा एमाले र माओवादी केन्द्रले गत २६ चैतमा सरकारलाई दिएको समर्थन फिर्ता लिंदै विशेष अधिवेशन बोलाउन प्रदेश प्रमुख परशुराम खापुङ सक्षम समावेदन दिएका थिए । तर उनिहरुको प्रयासका बाबजुत पनि मुख्यमन्त्री कार्की टसको मस नहुने देखिएछि ३ वैशाखमा विशेष अधिवेशनका लागि संकल्प प्रस्ताव दर्ता गराएका थिए । 

बिहिबारको प्रदेशसभा बैठकमा संकल्प प्रस्ताव पेश गर्दै एमाले र माओवादी केन्द्रका सांसदहरुले बदलिँदो राजनीतिक परिस्थितीलाई बुझेर मार्गप्रसस्त गरिदिन आग्रह गरेका छन् । 

सरकारलाई समर्थन गरिरहेका दलहरुले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानीक प्रावधान छ । तर संविधानको अन्तिम विकल्पका रुपमा कार्की मुख्यमन्त्री बनेकाले उनले विश्वासको मत नपाएपछि के हुन्छ, भन्नेमा अन्यौल कायमै छ ।

त्यसैको आडमा कार्कीले विश्वासको मत नलिने, राजिनामा पनि नदिने अडान लिँदै आएका छन् । त्यसैले कोशी प्रदेशको यो झमेलाको सहजै निक्र्यौल हुने देखिएको छैन । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update