News 24 Television
मधेसमा आन्दोलनको बिउ रोप्ने को ? 

काठमाडौं । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको झण्डै डेढ दशक भएको छ । संघीयता पूर्ण रुपमै कार्यान्वयनमा आएको पनि ६ वर्ष बढी भइसक्यो । 

प्रमुख राजनीतिक दलका नेताहरुले संघीयतालाई उपलब्धीपूर्ण भने पनि देशको ठूलो पंक्तिले आलोचना गरिरहेको छ । 

२०७२ सालमा संविधान जारी हुने बेलामा पहिचानसहितको संघीयता माग गर्दै देशका अधिकांश क्षेत्रहरु आन्दोलित बनेका थिए । कोशीमा पहिचानको आन्दोलन अझै रोकिएको छैन भने पहिचान पाएको मधेस पनि खुश छैन । 

२०७२ सालमा संविधानसभाबाट संविधान जारी हुदै गर्दा मधेसका जिल्लाहरु सबैभन्दा बढी आन्दोलित भएको थियो । 

मधेस आन्दोलनका क्रममा मधेसका थुप्रै युवाहरुले ज्यान गुमाए भने मधेस आन्दोलनसँगै दक्षिणी छिमेकी मुलुक भारतले अघोषित नाकाबन्दी नै गरेको थियो । 

मधेसले आफ्नो पहिचानसहितको प्रदेशको नाम त पायो तर अधिकार नपाएको भन्दै मधेसका नेताहरु अझे पनि सन्तुष्ट हुन सकिरहेका छैनन् । 

मधेसको अधिकारको सवाललाई लिएर क्षेत्रीय राजनीति गरेका मधेसवादी दलहरु एककट्ठा नै भएका थिए । तर मधेसवादी नेताहरुको सत्तामुखी स्वभावका कारण मधेस राजनीति गर्दै आएका सबै नेताहरु एकै ठाउँमा रहि रहन सकेनन् । सत्ता राजनीतिले मधेसका नेताहरुलाई विभिन्न कित्तामा पु¥याइरह्यो । 

अघिल्लो पाँच वर्ष अस्थिरताबाटै गुज्रिएको मधेस प्रदेशले २०६९ सालको निर्वाचनपछि पनि अस्थिर नै छ । 

केन्द्रको अस्थिर सत्ता राजनीतिको प्रभावबाट मधेस प्रदेश पनि मुक्त हुन सकेको छैन । तर यी सबैको कारक भने संघ शाशित नेताहरुको चिन्तन नै रहेको मधेसका नेताहरु बताउँछन् । 

संघीयता कार्यान्वयनमा आएको ६ वर्ष बढी भइसक्दा पनि अन्य प्रदेश जस्तै मधेस प्रदेश पनि अस्थिरताबाट गुज्रिरहेको छ । 

केन्द्रीय सत्ता परिवर्तनसँगै मधेसमा पनि त्यसको छायाँ परिरहेको छ । केन्द्रमा बदलिएको सत्ता समीकरणको प्रभावकै कारण १५ महिनाको अन्तरालमा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीबार ११ औं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । 

मधेसी जनताको अधिकारको लागि लडेको भन्दै मधेसकै केही नेताहरु अहिले पनि सत्ताको पेरिफेरीमा रहेका छन् भने केही नेताहरु मधेसमा फेरि पनि आन्दोलन चर्काउने दाउमा छन् । मधेस आन्दोलनको अग्र मोर्चामा देखिएका राजेन्द्र महतो लगायतका नेताहरु मधेसमा फेरि पनि आन्दोलन चर्काउने दाउमा छन् । 

महतो मात्रै होइन, मधेस राजनीतिबाटै उदाएका अन्य नेताहरु पनि मधेस आन्दोलन चर्काउने रणनीति बुनिरहेका छन् । 

आफूलाई मधेसको मसिहा भन्दै सत्ता लिप्सामा रहने र सत्ता नपाए आन्दोलनको हुँकार गर्ने नेताहरुलाई मधेसका जनताले पनि राम्रैसँग नियालीरहेका छन् ।

त्यसैले मधेसका जनताले तिनै नेताहरुलाई नै पटक पटक साथ देलान्, भन्न चाँही सकिदैँन । 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update