News 24 Television
अन्योलमा कोशी : नयाँ सरकार कि मध्यावधि ? 

काठमाडौं । कोशी प्रदेशमा सत्ताको छिनाझपटी अन्तिम चरणमा प्रवेश गरेको छ । प्रदेशसभाले संकल्प प्रस्ताव पारित गर्दै मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशित गरेपछि अब कोशीमा विश्वासको मत हुँदै मध्यावधीको बाटोमा जाने त होइन भन्ने आशंका सहित नयाँ सरकार गठनको विकल्प खुला भएको छ । 

कोशी प्रदेशमा मुख्यमन्त्री केदार कार्कीले राजीनामा पनि नदिने विश्वासको मत पनि नलिने भन्दै कसिरहेको अड्डीलाई प्रदेशसभाले अंकुश लगाएको छ । 

प्रदेशसभामा एमाले–माओवादी केन्द्रले दर्ता गरेको संकल्प प्रस्ताव पारित भएसँगै मुख्यमन्त्री कार्कीलाई अब विश्वासको मत लिने वा राजीनामा दिने बाटोमा जानुपर्ने बाध्यता आइलागेको छ । 

कोशीका सभामुखले ३० दिनभित्र विश्वासको मत लिन मुख्यमन्त्री कार्कीलाई निर्देशन दिएका छन् । 

सभामुखले यस्तो निर्देशन दिनुअघि संकल्प प्रस्तावबारेको छलफलमा सहभागी मुख्यमन्त्री कार्कीले आफू संविधानबाहिर नजाने विश्वास दिलाउन खोजे । 

संकल्प प्रस्ताव फिर्ता लिन उनले आग्रह गर्दै लामो सम्बोधन गरे पनि उनको प्रस्ताव पारित हुन पाएन् । तर, उनले सबै दल मिलेर सरकार बनाउन भने आग्रह गरे । 

कोशीको राजनीति अब कुन बाटोमा जाला भन्ने शंका थप बलियो बने पनि मुख्यमन्त्रीमाथि दुई विकल्पमात्रै देखिन्छन् । 

यस्तोमा एमाले, माओवादी केन्द्र र नेकपा एस भने मुख्यमन्त्रीले सहज रुपमा बाटो खालि गर्नुपर्ने तर्क गरिराखेका छन् । 

मुख्यमन्त्रीका लागि पर्खाईमा रहेका एमाले सांसद तथा संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री हिक्मत कार्की पनि अल्पमतमा परिसकेपछि अड्डी कस्न नहुने बताउछन् ।

संकल्प प्रस्ताव नै पारित भएपनि कांग्रेसले भने मुख्यमन्त्री कार्कीलाई राजीनामा वा विश्वासको मत लिनका लागि दबाब दिन नमिल्ने तर्क गरिरहेको छ । 

यता, सरकारका प्रवक्ता शमशेर राईले आफूहरू संविधानको अक्षरसः पालना गर्नेगरी अगाडि बढिरहेको बताउँछन् । अहिलेको संकल्प प्रस्ताव निर्णयसम्मत छ–छैन भन्ने विषयलाई लिएर कानूनी परामर्श गरिरहेको उनको भनाइ छ ।

कोशीमा अब के होला ?

कोशी प्रदेशमा संसदले मुख्यमन्त्री केदार कार्कीलाई ३० दिनभित्र विश्वासको मत लिन निर्देशन दिएपछि अब उनले विश्वासको मत लिने र विश्वासको मत नपाएको खण्डमा काम चलाउ सरकारको हैसियतमा मध्यावधी घोषणा गर्ने बाटो खुला छ । तर, सरकार बन्ने अवस्था रहेसम्म संसद विघटन गर्न नपर्ने भन्दै आएको सर्वोच्चको व्याख्याले भने उनलाई समस्या पार्ने देखिन्छ । तर, मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा दिएर अर्को सरकार गठनको विकल्प खुला गर्ने सम्भावना समेत कायमै छ । 

सरकार गठनमा प्रदेश प्रमुखको भूमिका रहने भएकाले सत्ता पक्षले प्रदेश प्रमुखलाई आफू खुशी प्रयोग गर्दै आएकोमा कोशीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री बन्ने सम्भावना भने बलियो छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update