News 24 Television
ओलीको औंलामा प्रचण्डको भविष्य ! देउवाले हलचल मच्चाउने ! 

काठमाडौं । सत्ता समीकरणमा देखिएको अविश्वासको संकटप्रति विभिन्न धारणा आउनेक्रम जारी छ । प्रतिपक्षी दल कांग्रेस वर्तमान सरकारको आयु धेरै नभएको रटान लगाइरहेको छ भने, एमाले प्रचण्ड नेतृत्वको सरकारको निरन्तरताको विषय उठाइरहेको छ । तर, सत्ता समीकरणमा अविश्वासका रेखाहरु भने टर्न सकेको देखिन्न । यस्तोमा प्रचण्ड नेतृत्वको सरकारले कार्यकाल पुरा गर्न सक्ला त ? 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबगन्धन फेर्ने विषयमा अग्रणि भूमिका निर्वाह गर्दै आएका छन् । सत्ता समीकरण अदलबदलमा माहिर प्रचण्डले आफूमाथि कुनै पनि बेला संकट आउने भयो भन्ने ठाने भने नयाँ जुक्ति निकाल्ने गर्छन् । तर, पछिल्लो समय वामपन्थी बाहुल्य सत्ता समीकरणभित्र देखिएको अविश्वासलाई लिएर कांग्रेस सत्तामा फर्किने आशामा देखिन्छ । 

कांग्रेसले सत्ता समीकरण लामो समय नजाने ठोकुवा गरे पनि यसको आयु कहिलेसम्म भनेर भन्न सकिने स्थिति भने बनिसकेको छैन् । 

एमाले–कांग्रेसले सत्ता सहकार्यको छलफल आन्तरिक रुपमा गरिरहेको विषय छिपेको छैन् । तर, एमाले भने सत्तामा आफ्नो पार्टीको ध्यान नरहेको दाबी गर्दै प्रचण्ड नेतृत्वको सरकारले राम्रो काम गर्न सके आलोपालो भन्ने विषयमै केन्द्रित नहुने र उनले नै पुरा कार्यकाल सरकार चलाउने भनिरहेको छ । 

एमालेले सत्ता गठबन्धन नै भन्न नरुचाएको प्रचण्ड नेतृत्वको सरकार भने लामो समय जाला भन्नेमा प्रश्न जताकतै देखिन्छ । सायद यहि बुझेर हुनुपर्छ, प्रधानमन्त्री प्रचण्डले आफू प्रतिपक्षमा बस्न तयार रहेको चेतावनीपूर्ण भाषण पनि दिइरहेका छन् । 

सत्ता सहकार्यको संकट

सत्तामा संकट आउने प्रमुख कारण बनिरहेको छ, प्रदेश संरचना । प्रदेशमा २÷३ सांसद रहेको दललाई मुख्यमन्त्री दिनुपर्ने जुन परिस्थिति बनिरहेको छ, यसले सत्ताको दिगोपनामा संकट देखा पर्न थालेको छ । 

हुनत, केन्द्रमा पनि ३२ सिटले प्रधानमन्त्री लिएको भन्दै आलोचनात्मक चर्चा हुने गरेको छ । तर, केन्द्रको छायाँमा प्रदेश सरकारहरु पर्नाले पनि संकट तलबाट माथि पर्ने सम्भावना बलियो देखिन्छ । 

गण्डकी, सुदूरपश्चिम, कर्णाली र मधेसबाट सत्ता संकटका बादलहरु देखा परिरहेका छन् । एमाले–माओवादीबीच खास समस्या नदेखिएको भनिए पनि कर्णालीमा मुख्यमन्त्री यामलाल कँडेल माओवादीको ट्र¥यापमा परेका छन् । मधेसमा जसपा पनि तनावमा छ । गण्डकी र सुदूरपश्चिमको हालत पनि यसभन्दा कम देखिन्न । 

यि सबै परिस्थितिका आधारमा विश्लेषण गर्ने हो भने प्रदेशबाटै वर्तमान सरकारमाथि संकट पैदा हुने प्रशस्तै आधार छन् । यद्दपी, यि सबै परिस्थितिले कस्तो रुप लिने ? प्रचण्डले पूर्णकार्यकाल सरकार चलाउन पाउने वा नपाउने यो भने अहिलेको अवस्थामा एमालेको कदमले निर्भर गर्ने देखिन्छ । 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  ०६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update