News 24 Television
ओलीको प्रतिवेदनः आक्रोशपछि रास्वपाको बचाउ, कांग्रेसको सत्तोसराप

काठमाडौं । नेकपा एमालेले शनिबारबाट शुरु गरेको पार्टी प्रतिनिधि परिषद्को बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा पार्टीहरुबारे समेत उल्लेख गरिएको छ । 

परिषद् बैठकमा एमाले अध्यक्ष केपी ओलीले कांग्रेसलगायत दलहरुमाथि कडा आक्रोश पोख्दै एमालेविरुद्धको घेराबन्दी तोड्न सफल भएको उल्लेख गरेका छन् । 

नेकपा एमालेको प्रतिनिधि परिषद्को बैठकमा नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीबारे चर्चा गरेका छन् । 

ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको उदयलाई पपुलिस्ट भन्दै विवेचनाको विषय बनेको बताएका छन् भने, कांग्रेसलाई दक्षिणपन्थी परम्परावादी पार्टीको विस्तारलाई पनि यहि खेमामा राखेका छन् । 

ओलीले प्रतिनिधिसभामा धेरै दलको उपस्थितिलाई समेत मुलुक अस्थिरतामा जाने कारणको रुपमा उल्लेख गरेका छन् । उनले निर्वाचन प्रणाली र प्राप्त नतिजाकै कारण मुलुकले अहिले मूल्य चुकाउनु परेको उल्लेख समेत गरेका छन् । 

संविधान र लोकतन्त्रप्रति दृढ

एमाले अध्यक्ष केपी ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा संविधान र गणतन्त्रप्रति गहिरो विश्वास प्रकट गरिएको छ । लोकतन्त्रको विकल्प अन्य विषय हुन नसक्ने दाबी गरेका ओलीले केहि दल र शक्तिले राजाको विषय उठाएको भन्दै त्यो सम्भव नहुने विषय भएको उल्लेख गरेका छन् । 

ओलीले राजा वा पारिवारिक विरासतलाई मुलुकको नेतृत्व दिने कुरा आजको दुनियाँमा सम्भव नभएको विषयको रुपमा उल्लेख गरेका छन् । 

राजतन्त्रलाई उनले जन्मजात सामन्ति प्रथाको रुपमा व्याख्या गरेका छन् । राजतन्त्रको कल्पना आजको युगमा असुहाउदो विषय भएको एमालेको ठहर देखिन्छ । 

कांग्रेसप्रति आक्रामक, रास्वपाको बचाउ

रास्वपालाई पपुलिस्ट भनेका केपी ओलीले सहकारी ठगी प्रकरणमा भने कडा बचाउ गरेका छन् । परिषद् बैठकमै पेश भएको आधिकारिक डकुमेन्टबाटै कांग्रेस सत्ता गुमाएपछि छटपटमा रहेको उल्लेख गर्दै रास्वपामाथिको प्रहारलाई षडयन्त्रपूर्ण भनेका छन् । 

संसदीय समितिको माग गरिरहेको कांग्रेसमाथि कडा पेश भएका ओलीले रास्वपा सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको अफर गरेको विषय उल्लेख गर्दै कांग्रेसले सत्ताबाट बाहिरिएपछि रोस साँध्न खोजेको आरोप लगाएका छन् भने व्यक्ति केन्द्रित विषयमा एमालेले कुनै पनि कुरा अस्वीकार गर्ने बताएका छन् । 

यसको अर्थ रविमाथि छानविनका लागि संसदीय समिति बनाउने कांग्रेसको  माग एमालेले नमान्ने प्रष्ट पारेको देखिन्छ । 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update