News 24 Television
इलाममा रास्वपा रनभुल्ल, अरु पहिचानको गलफत्तिमा

काठमाडौं । प्रतिनिधिसभामा रिक्त पदपूर्तिका लागि इलाम २ मा वैशाख १५ गते निर्वाचन हुँदैछ । उपचुनावको सरगर्मी सबै दल र नेताहरुमा छाएको छ । 

दलका शीर्ष नेताहरु इलाम पुग्ने र आफ्नो पक्षमा मत माग्नेक्रम चलिरहेको छ । कोशीमा देखिएको पहिचानको विषय पनि पेचिलो बनिरहेका बेला पहिचानको विषयमा समेत थरीथरीका अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । 

इलाम २ मा प्रतिनिधिसभाको चुनाव दलहरुलाई लागि मिनी जनमत संग्रह जस्तै बन्न पुगेको छ । इलामको चुनावलाई दल र नेताहरुले मिनी जनमत संग्रहको रुपमा लिएकै बेला शीर्ष नेताहरुको ओइरो इलाममै लाग्ने गरेको छ । 

यहाँ दलीय रुपमा नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचनलाई प्रतिष्ठाको विषय बनाएरै लागेको देखिन्छ । यता, नेकपा एकीकृत समाजवादीले समेत इलाममा चुनावी प्रचार खास बनाउन खोजिरहेको छ । 

एमाले नेतृत्व इलाम पुगेर आफ्नो पार्टीको उम्मेदवार सुहाङ नेम्वाङलाई निर्वाचित गराए पठाए विकासको जिम्मा लिने घोषणा नै गरिरहेको छ भने, कांग्रेसले चुनावी गठबन्धन वा तालमेल ठिक नहुने भन्दै आफुलाई एक्लै उभ्याउन खोजेको आभाष दिलाउन खोजिरहेको  छ । 

यसरी दलीय प्रतिस्प्रर्धा चुनाव जित्ने गरि चलिरहेको बेला पहिचानको विषय समेत उत्तिकै जोडतोडले उठिरहेको छ । 

पहिचानपक्षधरले स्वतन्त्र उम्मेदवारी दिएर कडा चुनौति दिइरहेका बेला एमालेले एकल जातीय पहिचानको विषयले मुलुक समृद्ध नबन्ने दाबी गरिरहेको छ भने कांग्रेसले पहिचानको विषयमा कांग्रेस गम्भीर बनेको सन्देश दिइरहेको छ । 

पहिचानको विषयमा गलफत्ति चले पनि रास्वपा भने पहिचानको पक्षमा के हो भन्ने प्रष्ट खुलि नसकेको दल हो । यता, पहिचानको पक्षमा देखिएका स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिम लिम्बुले कडा चुनौति दिने आंकलन गरिएको छ । 

कोशी प्रदेशमा पहिचान पक्षधरहरुले गरिरहेको प्रदर्शन र त्यहाँ उत्पन्न संकटका कारण पनि इलामको चुनावी माहोल थप रोचक बन्ने दाबी गर्दै आइएको छ । यद्यपी, दलहरुले आफ्नो दबदबा देखाउन सबै प्रयासहरु चालिरहेको बेला नतिजा भने प्रतिक्षाको विषय बनेको छ । 

 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०७:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update