News 24 Television
रित्तो बन्दै बाबुराम, प्रचण्डले दिए खुलेआम धोका ! 

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई एक्लिदै गएका छन् । सचिवालयमा रहेका नेताहरु समेत धमाधम माओवादी केन्द्रमै फर्किन थालेपछि अहिले उनी एक्लिएरै भएपनि राजनीतिक मुद्दा बोक्ने प्रण गरिरहेका छन् । तर, बाबुराम एक्लिनुमा उनकै शैली प्रमुख रहेको आरोपदेखि अनेक विषय आइरहँदा के बाबुराममाथि लाग्न थालेका संगिन आरोपहरु सत्यका नजिक छन् त ? 

माओवादी जनयुद्ध हुँदै मुलुकको प्रधानमन्त्रीसम्म बनेका डा. बाबुराम भट्टराईको राजनीतिक जीवन उतारचढावपूर्ण रहेको छ । नयाँ शक्ति निर्माणदेखि जनता समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीसम्ममा पुग्दा उनको राजनीतिक उचाई घटेकै छ । उनी राजनीतिक रुपमा शक्तिहीनताको बाटोमा लागेपनि उनले दीर्घकालीन योजनामा लागेको दाबी गर्दै आएका  छन् । त्यसलाई रानीतिक रुपले सहि भन्न सकिने अवस्था भएपनि माओवादी केन्द्रसँग एकता गर्ने विषयबाट पछि हटेका उनीमाथि अहिले संगिन आरोपहरु लाग्न थालेको छ । नेसपाकै अध्यक्ष रहेका महिन्द्र राय यादवले बाबुराममाथि संगिन आरोप लगाएका छन् । उनले बाबुरामले राष्ट्रपति बन्न नपाउँदा प्रचण्डसँग एकता गर्न नचाहेको दाबी गरेका छन् । यतिमात्रै नभएर बाबुरामले आफू राष्ट्रपति नबनेपनि पत्नी हिसिला यमी भट्टराईलाई उपराष्ट्रपति बनाएको भए पनि त्यसको १५ दिनमै पार्टी एकता हुन्थ्यो भन्दै बाबुराममाथि संगिन आरोप लगाएका छन् । 

महिन्द्र रायले बाबुराममाथि लगाएका आरोप यतिमात्रै छैन् । बाबुरामले पार्टीलाई परिवारको जस्तो बनाउन खोजेको आरोप समेत उनको छ । 

बाबुरामलाई लामो समयदेखि साथ दिदै आएका नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ पनि बाबुरामको नियतमाथि प्रश्न गरिरहेका छन् । माओवादीलाई नजिकको मित्रशक्ति पनि भन्ने अनि नजिकको दुश्मन पनि भन्ने भन्दै श्रेष्ठले बाबुरामलाई प्रश्न गरिरहेका छन् । 

किन एक्लिए बाबुराम ?

नेसपाभित्र बाबुराम घेराबन्दीमा परे पनि उनको सचिवालयमा बसेर लामो समयदेखि काम गर्दै आएका विश्वदीप पाण्डेले समेत उनलाई छाड्लान् भन्ने धेरैलाई लागेको थिएन । तर, उनै पाण्डेले प्रधानमन्त्री प्रचण्डको युवा तथा सामाजिक विकास विज्ञको रुपमा नियुक्त हुँदै बाबुरामलाई छाडिदिए । 

केहिदिन पहिलेमात्रै बाबुरामले २०८४ को चुनावमा गोरखाबाटै उम्मेदवार बन्ने घोषणा गरिदिएका पाण्डेले नेसपा छाडेर माओवादी केन्द्रमा फर्किएका छन् । यसरी हेर्दा बाबुराम विस्तारै पार्टी क्षयीकरणको चरणमा प्रवेश गरिरहेको देखिन्छन् । नयाँ शक्ति निर्माण गर्दा ठूलो शक्तिसहित हिडेका बाबुराम किन एक्लिन पुगे ? यसको विश्लेषण भइरहेको छ । तर, खास कारण भने पद र शक्तिको आशक्ति नै रहेको आरोप पछिल्लो समय जोडदार रुपले लाग्न थालेको छ । 

प्रचण्डसँग किन टाढिए ?

निर्वाचनका समय प्रचण्डलाई गोरखा पु¥याएका बाबुरामले प्रचण्ड नै प्रधानमन्त्री बन्ने घोषणा गर्ने गरेका थिए । तर, उनले प्रचण्डबाट पटक–पटक अपमानित भएको महशुस गरिरहेका छन् । प्रचण्डले बाबुरामलाई समाजवादी मोर्चामा संलग्न गराउन नचाहनु, सत्ता र शक्तिको पछि कुद्नु र पार्टी एकतामा समेत महिन्द्र रायलाई प्रस्ताव पठाउनु लगायत विषयले बाबुराम टाढिएका हुन् । 

यतिमात्रै नभई प्रचण्ड प्रधानमन्त्री बन्ने र बाबुराम राष्ट्रपति बन्ने भनि प्रारम्भिक समझदारी नै भएको उनीहरु निकटस्थले स्वीकार्ने गरेका  छन् । पछि राजनीतिक रुपमा समेत समीकरण उथलपुथल भएपछि उपराष्ट्रपतिको विषय पनि प्रचण्डले नै प्रस्ताव गरेको बताइन्छ । यी सबै विषयमा प्रचण्डले समीकरणको सन्तुलन मिलाउन सल्लाह नै नगरि आफू खुशी गर्न थालेपछि बाबुराम चिढिन पुगेको बताइन्छ । अझं उनीहरुबीच प्रचण्डले राजकीय सत्ता सम्हाल्ने र बाबुरामले विचार दर्शनको क्षेत्र सम्हाल्ने गरि सहमति नै जुटेको थियो । तर, प्रचण्डले बाबुरामलाई वास्ता गर्न छाडेपछि बाबुराम विच्किएको बताइन्छ । 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ०९:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update