News 24 Television
घम्साघम्सीमा उत्रिए ओली–माधव, प्रचण्डको टाउकोमा हात !

काठमाडौँ । एमाले–माओवादी–एकीकृत समाजवादीको आधारभुत चाहना वाम एकता भएको चर्चा केही समय पहिले नेपाली राजनीतिक वृतमा खुब चल्यो । यि कम्युनिस्ट घटकबीच सहकार्यका केही झलकले वाम एकता हुन्छ कि त भन्ने सतही विश्लेषण पनि चलेकै थिए । तर, अहिले भने वाम एकताको चर्चामा आशंका बढ्दै गएको छ । सत्तारुढ दलहरुमै पछिल्ला केही दिन यता एकअर्काबीच आरोप–प्रत्यारोपका श्रृंखला बढ्नुले एकतामाथि आशंका बढाएको हो । यहि परिस्थितिका बीच वर्तमान सत्ता समीकरणको आयु पनि प्रभावित हुने देखिन्छ ।  

एमाले–माओवादी नेतृत्वको वर्तमान सत्ता समीकरणको आयुबारे बहस सुरुवाति चरणदेखि नै चल्दै आएको छ । नयाँ सत्ता समीकरण बन्ने समय वाम शक्तिहरुका बीच सहकार्य हुँदै वाम एकतासम्म पुग्ने आधारका रुपमा अहिलेको सत्ता समीकरणलाई लिइएको थियो । तर, ठुला भनिएका कम्युनिष्ट दलहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी बीच सुमधुर सम्बन्ध बन्न सकेको छैन । समीकरण बनाउँदा नरम देखिएका केपी ओली–माधव नेपाल अहिले पुनः आरोप प्रत्यारोपको पुरानै शैलीमा फर्केर एकअर्कालाई चेतावनी, धम्की र घुर्की देखाइरहेका छन् । 

सत्तारुढ दलहरुबिचनै यो अन्योलको फाइदा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउन खोजिरहेको छ । आफुलाई वर्तमान सत्ता समिकरणको निर्णायक दावी गरिरहेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई कांग्रेसले फकाइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटेपछि अध्यक्ष नेपालले, वर्तमान समिकरण उथलपुथल गरिदिने धम्की दिन थालेका छन् । यसैको बलमा समिकरणको आयु धेरै नरहेको दावी नेपाली कांग्रेसले गरिरहेको छ । 

संसदको जटिल अंकगणितका कारण १५ महिनामा तेस्रो पटक सत्ता समिकरण परिवर्तन भएको पृष्ठभूमिमा वर्तमान समिकरण बनेको थियो । कठीन राजनीतिक माहोलमा बनेको समिकरण आगामी निर्वाचनसम्म जानेमा ढुक्क हुने माहोल नरहेको सत्तापक्षकै नेताहरुले बताउने गरेका छन् । 

समिकरणमा देखिएका छिद्रहरुको बचाउन गर्नका लागि शिर्ष नेताद्वय प्रचण्ड–ओली लागि परेका छन् । अझ कांग्रेसले वैकल्पीक समिकरणको गृहकार्य जारी राख्दा हालको सत्ता समिकरणमा कुनै समस्या नरहेको संदेश दिने होडबाजी जस्तो चलेको छ । 

आफ्नो राजनीतिक प्रतिवेदनमा एमाले अध्यक्ष ओलीले सम्भावित वाम गठबन्धनप्रति सकारात्मकता देखाएका छैनन् । यसले पनि प्रचण्ड माधवलाई लामो समय साथ लिएर हिँड्ने पक्षमा एमाले नरहेको संकेत गरेको छ । आपसमा यतिका तुष पालेर प्रचण्ड, ओली र माधव कतिसमय सँगै हिँड्लान् त ? वास्तवमै यहि राजनीतिक माहोलमा वर्तमान समिकरण दीगो हुने विश्वास गर्न कठीन छ । 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update