काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा अझै पत्ता लगाउन नसकेको भन्दै नेकपा एमालेप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
सोमवार ललितपुरको गोदावरीथित सनराईज हलमा नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक महोत्सव समारोहमा बोल्दै उनले मदन भण्डारीको हत्यारा किन पत्ता लगाउन नसकेको भन्दै एमाले नेतृत्वप्रति प्रश्न गरेका छन् ।
एमाले अध्यक्ष केपी ओलीलाई लक्ष्यित गर्दै उनले काँग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा भने अहिलेसम्म पत्ता लगाउन नसकेको बताए । मदन भण्डारी आफूहरुको पनि नेता भएको बताउँदै देउवाले मदनको हत्यारा पत्ता लगाउने काम किन गरिएन ? भनी मदन भण्डारीकी पत्नी समेत रहेकी विद्या भण्डारीलाई पनि प्रश्न गरे । विद्या भण्डारी दुईपटक राष्ट्रपति हुँदा र ओली सहित एमाले नेताहरुको नेतृत्वमा पटक–पटक सरकार बन्दा पनि सो हत्याकाण्डको रहस्य पत्ता लगाउने काम नभएकोमा उनले असन्तोष जाहेर गरे ।
‘काँग्रेसलाई गाली गर्नेले मदन भण्डारीको हत्यारा अहिलेसम्म पत्ता लगाउन सकेको छैन । हुँदाहुँदा उहाँको ड्राईभर पनि मारियो,’ उनले भने, ‘भनेदेखि मदन भण्डारी हाम्रो नेता हो, त्यसमा दुईमत छैन । तर मार्नेको पत्ता किन लागेन ? त्यसकारण काँग्रेसको विरोध गर्न सजिलो होला । गर्नुस् केही छैन । तर आफ्नो पनि भन्नु प¥यो नि । किन मदन भण्डारीको हत्यारा पत्ता लागेन ? काँग्रेस लुकेको छ यहाँ ? कहाँ लुकेको छ ? त्यसैले यो रहष्यमय हत्या, दुई पटक राष्ट्रपति बनिसक्नु भयो, प्रधानमन्त्रीहरु बनिसकेको सबै । खै पत्ता लगाएको ? त्यसकारण मलाई गाली गरेर केही हुनेवाला छैन । त्यो कुरा पत्ता लगाउनुपर्यो तपाईहरुले ।’
सभापति देउवाले नेपाली काँग्रेस सधैँभर देशको महत्वपूर्ण मुद्दामा विद्यमान राजनीतिक दलहरुबीच संवाद, सहमती र सहकार्यको नीति लिँदै आएको र त्यसको निरन्तरताको पक्षमा रहेको पनि बताए । उनले संसदमा प्रतिपक्षले उठाएका विषयलाई गम्भिरतापूर्वक लिन पनि सरकार र सत्तारुढ दलहरुलाई आगह समेत गरेका छन् ।
