News 24 Television
ओली–माधव तिक्तता उत्कर्षमा, निम्तो बहिस्कार गर्दा एमाले आक्रोशित

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको ७५ औं स्थापना दिवसको अवसरमा नेकपा एमालेले आयोजना गरेको हिरक महोत्सवमा सत्ता गठबन्धन दलहरुलाई मात्र होइन, विपक्षी दलहरुलाई आमन्त्रित गरेको थियो । तर कार्यक्रममा नेकपा एसका अध्यक्ष माधव नेपाल गएनन् । माधवले विगतमा पनि एमालेको निमन्त्रणा बहिस्कार गर्दै आएका छन् । झण्डै १५ वर्ष एमालेको नेतृत्व गरेका माधव नेपाल र नेकपा एमालेको सम्बन्ध, दुई बर्षअघिको पार्टी विभाजनपछि नराम्ररी बिग्रिएको छ । अझ केपी ओली–माधव नेपालबिचको तुष घट््नुको साटो थप बढ्दै गएको छ ।

बामदेव गौतम, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, विद्यादेवी भण्डारी, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, सिपी मैनाली, खिलराज रेग्मी । नेपाल कम्युनिष्ट पार्टीको ७५ औँ स्थापना दिवसको अवसरमा नेकपा एमालेले ललितपुरको गोदावरीमा आयोजना गरेको हिरक जयन्तीमा कम्युनिष्ट देखि गैरकम्युनिष्ट भिआइपी नेताहरुको लामो पंक्ती देखियो । 

नेकपाबाट टुटेका, फुटेका, अलग्गीएका, सबैलाई एमालेले हिरक महोत्सवमा आमन्त्रण गरेको थियो । तर कम्युनिष्ट पार्टीसँग लामै साइनो बोकेका, झण्डै डेढ दशक एमालेको नेतृत्वमै रहेका, हाल एउटै सरकारमा एमालेसँग काँध मिलाएका नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने कार्यक्रम बहिस्कार गरे । सोमबार विहानै माधव नेपाल एमाले पार्टी कार्यालयमा आयोजित अर्को कार्यक्रममा भने उपस्थित भए । त्यो कार्यक्रमको आयोजना स्व. नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले गरेको थियो । जतिबेला नेकपा एमालेसँगको तिक्तता नेपालले कार्यक्रममै पोखेका थिए । 

पार्टी फुटेपछि पछिल्लो समय नेकपा एमाले, एकिकृत समाजवादीसँगको दुरी घटाउन खोजिरहेको छ । तर माधव नेपालप्रति भने सिंगो एमालेपंक्तीको तुष भने मरिसकेको छैन । एमाले अध्यक्ष ओलीले अझैपनि माधव नेपाललाई देख्नै नपरे हुनेथियो जस्तो गर्ने गरेका छन् । सोमबार विहान माधव उपस्थित कार्यक्रमलाई ओलीले पनि बहिस्कार गरेका थिए । मन अमिलो बनाएरै भएपनि माधवलाई पटक पटक एमालेले आफ्नो कार्यक्रममा निमन्त्रणा दिने गरेको छ । यसअघि गत कार्तिकमा एमालेको चियापानमा उपस्थित हुने निमन्त्रणा माधवले ठुकराएका थिए । माधवको यो प्रवृत्तिले एमालेपंक्तीलाई भने आक्रोशीत बनाएको छ । 

माधवले एमाले बहिस्कार गर्दा पूर्व प्रधानमन्त्री तथा एमालेकै अर्का पूर्व अध्यक्ष झलनाथ खनाल भने एमालेका कार्यक्रमहरुमा खुलेर हँसिलो मुद्रामै देखिने गरेका छन् । सायद माधवलाई जति घृणा एमालेले झलनाथलाई गरेको छैन । एमाले पंक्तीमा मुख देखाउन उनलाई त्यति अप्ठ्यारो छैन । एमाले–माधवको यो पानी बाराबारको सम्बन्ध वर्तमान सत्ता गठबन्धन तथा सम्भावित वाम एकताका लागि भने बाधक बनिरहेको छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update