News 24 Television
रविविरुद्ध उर्लिए सहकारी पीडित, पोखरादेखि केन्द्र हल्लाउने !

काठमाडौँ । कसैले मकै बेचेर, कसैले तरकारी पसल थापेर त कोहिले किराना पसल गरि दैनिकरुपमा सहकारीमा राखेको सय पचास रुपैयाँ सहकारी सञ्चालकहरुले अपचलन गरि फरार भए भनेको सुन्दा त्यो ज्यालादारी मजदुरलाई कस्तो भयो होला ? हो विगत दुई वर्षदेखि कास्की र आसपासका झण्डै ४५ हजार बढी जनता यहि पीडामा रहेका छन् ।

आफ्नो रकम फिर्ताका लागि उनीहरु दुई वर्षदेखि छुट्टाछुट्टै आन्दोलन गर्दै आएका थिए । अहिले भने ६ वटा सहकारी पीडितहरुले संयुक्त आन्दोलनका कार्यक्रम शुरु गरेका छन् । 

कोहिले तुल ब्यानर बोकेका छन्, कसैका हातमा प्लेकार्ड देखिन्छ, के वृद्धवृद्धा, के तन्नेरी । पृष्ठभूमिबाट आवाज आइरहेको छ, ‘हाम्रो बचत फिर्ता दे’ ।

यी मानिसहरु दिनरात नभनी घुँडा जोती जोती कमाएको धन सहकारीमा नै असुरक्षित मात्रै होइन की फिर्ता पाउने आशा मरेपछि आफ्नो बचत फिर्ताका लागि सडक संघर्षमा उत्रिनु परेको छ । 

देशव्यापीरुपमा रहेको सहकारी समस्या कास्कीमा पनि ब्यापक छ । त्यसो त यस अघि पनि सहकारी पीडितहरु आन्दोलनमा नहोमिएका होइनन् फरक यत्ति हो त्यतीबेला छुट्टाछुट्टै सहकारीका पिडितले फरक फरक आन्दोलन गर्दै आएका थिए, तर झण्डै दुई वर्ष बितिसक्दा पनि बचत फिर्ता नभएका र कतिपय सहकारीका सञ्चालक पक्राउनै नपरेपछि अहिले कास्कीका ६ सहकारीका पिडितहरु संयुक्त आन्दोलनमा होमिएका छन् । जस अनुरुप सोमबार सहकारी पिडितहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा जम्मा भई नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीसम्म पुगेर आफ्नो पिडा मात्रै राखेनन् की न्याय नपाए आफुहरुलाई ठग्ने माथी जाईलाग्ने सम्मको धम्की दिए ।

भविष्यका लागि भनेर साचेको रकम सहकारीमा सुरक्षित हुन्छ भन्दै राख्दा बचत नै गुमेपछि कतिपय घरमा श्रीमान श्रीमती बीचको सम्वन्ध विच्छेद भएको, बालबच्चालाई स्कुल भर्ना गर्न नसकेको, वृद्ध बाआमाको उपचार गर्न नसकेको र कतिपयको घरमा बिहान बेलुकाको हातमुख जोर्न नै धौ धौ भएको बताउछन् सहकारी पीडित । 

कास्कीमा मात्रै सुर्यदर्शन सहकारी, इमेज सहकारी, शिवसिखर सहकारी, बलिदानी, मित्रमिलन, विन्ध्यवासिनी गरि ६ सहकारीका ४५ हजार भन्दा बढी पिडित रहेको छन् । त्यसो त सहकारी पिडितहरुले सुर्यदर्शन सहकारी प्रकरणमा नाम मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा वर्तमान गृहमन्त्री रवि लामिछानेदेखि विभिन्न पार्टीमा नेता तथा सम्वन्धित निकायसामु धेरै पटक गुहार माग्न गैसके तर अहिलेसम्म पनि आफुहरुको माग पुरा हुनेमा विश्वस्त छैनन् सहकारी पिडितहरु । १० दिन अघिमात्रै संघर्ष समितिले गृहमन्त्री रवि लामिछानेलाई भेटेर बचतकर्ताको रकम तुरुन्त फिर्ता गराउन आफ्नो माग राखेको छ । तर अहिलेसम्म कुनै पहलकदमी नभएको भन्दै आफुहरु जुनसुकै आन्दोलन गर्न पनि तयार रहेको सहकारी संघर्ष समितिका संयोजक तथा कास्की सहकारी पिडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठ बताउँछन् ।

कास्कीको सुर्यदर्शन सहकारीबाट मात्रै १ अर्ब ३५ करोड बचत अपचलन भएको प्रहरी अनुसन्धानले देखाएको छ । त्यस्तै इमेज सहकारीबाट मात्रै २ अर्ब, शिवसिखर सहकारीबाट ५४ करोड २३ लाख, बलिदानी सहकारीबाट १० करोड ६९ लाख, मित्र मिलन सहकारीबाट ३१ करोड ७८ लाख र विन्ध्यवासिनी सहकारीबाट १० करोड बचत हिनामिना भएको आरोप छ । त्यस्तै यी सहकारीबाहेक पनि दर्जनको हाराहारीमा कास्कीका सहकारीहरु बन्द भएका छन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update