News 24 Television
कतारका राजा काठमाडौँमा

काठमाडौँ । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको निम्तोमा थानी नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौँ आएका हुन् ।

आफ्नै निजी विमानमा दिउँसो साढे ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थानीलाई राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । आजै अमिर थानी र राष्ट्रपति पौडेलबीच शीतलनिवासमा भेटवार्ता कार्यक्रम छ । 

थानीका लागि सोल्टी होटलमा राष्ट्रपति पौडेलले रात्रीभोजको आयोजना गरेका छन् । भाेजमा प्रधानमन्त्री लगायत विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।

बंगलादेशको राजकीय भ्रमण सम्पन्न गरी थानी सीधै काठमाडौँ आइपुगेका हुन् । उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको छ ।

स्वागतका लागि उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलमै पुगेका थिए ।

यसैगरी कतारका अमिरलाई स्वागत गर्न उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update