News 24 Television
कतारी राजाले जगाए उत्साह, मौका छोप्ने नेपालको जिम्मा   (भिडियो)

काठमाडौँ । कतारका राजा अहिले नेपाल भ्रमणमा छन् । कतारका राजाको भ्रमण पहिले नै हुने भनिएपनि विभिन्न कारणले स्थगित भएको थियो । तर, मंगलबार साँझ उनी नेपाल  आइपुगेका छन् । कतारका राजाले नै गर्न लागेको नेपालको भ्रमण कस्तो रहला ? सम्पन्न मुलुक कतारबाट नेपालले के अपेक्षा गर्न सक्छ ? श्रमक्षेत्रका सम्झौता र विपिन जोशी रिहाईका लागि सरकारले लविङ गरि कूटनीतिक प्रभाव देखाउन सक्ला त ? 

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आएका छन् । मंगलबार साँझ नेपाल आइपुगेका उनी दुई दिन नेपालमा रहने छन् । 

राष्ट्रपति रामचन्द्र पौडेलको औपचारिक निमन्त्रणामा अमिरले नेपालको राजकीय भ्रमणलाई स्वीकार गरेका  हुन् । कतारका राजा अहिले नेपाल भ्रमण रहेका समय नेपालले कस्ता विषयमा कुराकानी गर्नु पर्छ र सरकारी सम्झौताहरु कस्ता होलान् यो चासोको विषय हो । मानवीय दृष्टिकोणले नेपालको प्राथमिकतामा विपिनको रिहाई रहेको छ भनिन्छ र यो रहनु पनि पर्छ । 

विपिनको रिहाई प्राथमिकतामा

अर्न एण्ड लर्न योजना अन्तर्गत इजरायल पुगेका विपिन जोशी हमास समूहको नियन्त्रणमा रहेको बताइन्छ । हमास समूहले उनलाई रिहा नगरेपनि नेपालमा विपिनको रिहाई सरकारमाथि दबाबको विषय बनिरहेको छ । विपिनको परिवारले पनि केही दिन अघि मात्रै प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटेर विपिनको रिहाईलाई प्रमुख विषय बनाइदिन अपिल गरिसकेका छन् । यस्तोमा नेपालले कतारी अमिरको नेपाल भ्रमणलाई अवसरको रुपमा प्रधानमन्त्री प्रचण्डले यस अघि नै बताएका थिए ।

प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिममा पुगेर समेत कतारी अमिरको नेपाल भ्रमणको अवसरमा विपिनको रिहाईलाई मुद्दा बनाउने आश्वासन दिएर आएका थिए । उनले कतारले मध्यस्थता गरिदिनेमा आशा समेत व्यक्त गरे । यसअघि पनि कतारले हमास समूहसँग मध्यस्थताको काम गर्दै आएको छ । 

नेपाली श्रमिकका मुद्दा

कतार नेपालको ठूलो श्रम बजार हो । सामान्य मजदूरीदेखि सीपयुक्त मजदूरहरुले कतार जाने र जिविकोपार्जन गर्ने काम गरिरहेका छन् । रेमिट्यान्समा योगदान पु¥याउन मजदूर लगि दिने कतारसमक्ष नेपाली पक्षले श्रमिकको हक हीत र तलब वृद्धिबारे समेत सम्झौता गर्ने तयारी गरिरहेको देखिन्छ । तर, कतारी पक्ष तत्काल तयार भने देखिन्न । नेपालीका लागि ठूलो श्रम गन्तव्य कतार भएकाले नेपालले आफ्ना नागरिकबारे नविनत्तम समझदारी गर्ने गरि कार्यक्रम गर्ने तयारी गरेपनि अहिले नै के होला भन्न सकिने अवस्था भने छैन् । कतारका राजाले नेपाली श्रमिकको मुद्दालाई दूतावास र परराष्ट्रमार्फत नै टुंगो लगाउन सकिने सन्देश पठाएको बताइन्छ । तर, नेपालले भने यसमा सहमति खोज्ने प्रयास गर्ने तयारी गरिरहेको छ । 

द्विपक्षीय हीत

कतारी राजा अमिरको नेपाल भ्रमणले दुई देशको आपसी हित, सम्बन्ध विस्तार र द्विपक्षीय सहयोग आदानप्रदानमा ठूलो योगदान हुने अपेक्षा गरिएको छ । उनको भ्रमण नेपाल र कतारबीच उच्चस्तरिय भेटघाट आदानप्रदान र दुई देशको आपसी हित र स्वार्थमा सहयोग पुग्नेछ । कतार सम्पन्नशाली राष्ट्रमा पर्छ । कतार मरुभूमीको देश भएपनि उसले गरेको विकास निर्माण, व्यवसाय र उसले अपनाएको विकास मोडेलका साक्षी नेपालीहरु पनि बनिरहेकाले यसको प्रत्यक्ष लाभ नेपालले कसरी उठाउन सक्छ भन्ने विषय पनि महत्वपूर्ण हुनेछ ।

लगानी सम्मेलनमाथिको प्रभाव

नेपालले यहि वैशाख १६ र १७ गतेसम्म लगानी सम्मेलनको आयोजना गर्दैछ । लगानी सम्मेलनमा विभिन्न देशमा १४ सय निम्तो पठाएको थियो । जसमा ६ सय बढिले सहभागिता जनाउने वताइएको छ । ४३ देशका ६ सय बढिले सहभागीता जनाउन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा कतारी अमिरको नेपाल भ्रमणले उत्साह थप्ने अपेक्षा समेत गरिएको छ । कतारी अमिरको नेपाल भ्रमण र उनले दिने सन्देशले लगानीकर्तामा थप विश्वास आर्जन गराउन सकिने गरि नेपालले लगानी सम्मेलनलाई समेत प्रभावकारी बनाउन सक्ने स्थिति बन्न सक्छ । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update