News 24 Television
०७२ सालको भूकम्पको सम्झनामा फोटो प्रदर्शनी

काठमाडौँ । वि.सं. २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पको सम्झनामा आज बृहत फोटो प्रदर्शनी गरिएको छ । 

खानी तथा भूगर्भ विभाग र सम्भायिका समाज नेपालको संयुक्त आयोजनामा विभागको प्राङ्गणमा ०७२ को भूकम्पको सम्झनामा उक्त फोटो प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा ०७२ सालमा गोरखा भूकम्पका क्रममा खिचिएका फोटोहरु राखिएको थियो । 

यस्तै अघिल्लो वर्ष जाजरकोट र बझाङमा गएको भूकम्पका क्रममा खिचिएका र संकलन गरिएका फोटोहरु पनि प्रदर्शनीमा राखिएको थियो । 

प्रदर्शनीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै खानी तथा भूगर्भ विभागका वरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीले भूकम्पलाई बिर्सिने गरिएको भन्दै विगतमा भूकम्पले गरेका क्षति देखाउँदै यसप्रति सचेत गराउनका लागि प्रदर्शनी गरिएको बताए । उनले नेपाल भूकम्पको जोखिममा रहेको देश भएको भन्दै यो कुरालाई बुझाइराख्न र भूकम्प प्रतिरोधी संरचना निर्माणका लागि सचेत गराउनका लागि फोटो प्रदर्शनी गरिएको बताए । 

bukamp-1713959026.JPG
 

 ‘विद्यालयका पाठ्यक्रमहरुमा भूकम्प सम्बन्धी शिक्षा करिव करिव राखिएकै छैन जस्तो छ । यिनै कुराहरुलाई मध्येनजर गर्दाखेरी कम्तिमा हामीले हाम्रो देश भूकम्पीय जोखिममा छ,’ उनले भने, ‘जहाँ जहिल्यै, जतिसुकै बेलामा पनि ठूला भूकम्प जान सक्छन् । साना गइरहेका छन् । अत्यन्त जोखिम भएको अवस्थामा हामी सुसुचित नभएसम्म हामीले बनाउने संरचना सुरक्षित हुँदैनन् । र हामी त्यसबाट जोगिन सक्दैनौँ । भुकम्पको क्षति ठूलो हुन्छ भन्नेकुरालाई मध्येनजर गरेर ०७२ सालमा गोरखाको भूकम्पमा खिचिएको फोटोहरु जुन अहिलेसम्म प्रकाशित भएका थिएनन् तिनै फोटाहरु । खानी विभागकै प्राविधिकहरु फिल्डमा जाँदाखेरी जाजरकोट भुकम्प, बझाङ भुकम्प लगायतका स्थानमा संकलन गरेका, खिचेका फोटोहरु राखेर सम्भायिका समाज नेपालसँगको संयुक्त आयोजनामा एक दिने वृहत फोटो प्रदर्शनी गरियो । यि फोटाहरुले फेरि हाम्रो मानसपटलमा झक्झकाओस् कि हामी जोखिम ठाउँमा छौँ भनेर ।’

डा. अधिकारीले शहरमा भवन आचारसंहिता अनुरुपको घरहरु बने पनि गाउँघरमा भने भवन आचारसंहिताको पालना नगरेको देखिएको बताए । उनले आगामी दिनमा भवन असुक्षित बनाउन नदिन राज्यले सोच्नुपर्ने बताए । 

प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update