News 24 Television
राजालाई चढाइएका हात्ती रोकिए नेपालमै, कतार लैजान कानून बाधक !

काठमाडौँ  । नेपालले कतारलाई दिने भनेको जोडी हात्ती लैजाने प्रक्रिया अझैं टुंगिन सकेन । कतारी अमिरको नेपाल भ्रमणका बेला नेपालले कतारलाई हात्ती दिने प्रक्रिया सम्पन्न हुने भनिए पनि कानूनी उल्झन र लोपन्मुख प्रजातिमा पर्ने हात्ती ओसार–पसारमा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने भएकाले दुई हात्ती कतार जान पाएनन् । तर, किन नेपालले कतारलाई हात्ती उपहार दिने निर्णयमा जोड दियो त  ? यो भने कूटनीतिसँग जोडिएको विषय हो । 

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २०७५ सालमा आफ्नो कतार भ्रमणका समय नेपालले दुई वटा हात्ती उपहार दिने प्रतिबद्धता जनाएकी थिन् । पूर्वराष्ट्रपति भण्डारीले हात्ति उपहार दिने प्रतिबद्धता जनाएको ५ वर्ष वितिसक्दा पनि कतारले नेपालबाट हात्ति भने लैजान पाएन । यसको कारण हो, लोपन्मुख जनावर एक देशबाट अर्को देश लैजादा अन्तराष्ट्रिय कानून आकर्षित हुनु । 

कतार पठाउने भनिएका हात्तिहरु आवश्यक कानूनी प्रकृया पुरा हुन नसक्दा कतारी अमिरको नेपाल भ्रमणको बेला समेत पठाउन नसकिएको हो । हात्ती दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार महासन्धि (साइटिस) को अनुसूचीमा सूचीकृत छ ।

 दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार नियन्त्रण र नियमन गर्न तयार पारिएको अन्तर्राष्ट्रिय महासन्धिमा नेपालले हस्ताक्षर गरेको छ । त्यसैले साइटिसमा सूचीकृत वन्यजन्तु तथा वनस्पतिलाई एक देशबाट अर्को देशमा लैजान साइटिस सचिवालयको स्वीकृति चाहिन्छ । नेपाल दिन तयार भए पनि नेपालबाट हात्तीहरू कतार पठाउनका लागि साइटिस सचिवालयबाट स्वीकृति भइसकेको छैन । यसर्थ हात्ति कतार लैजाने प्रक्रिया पुरा हुन सकेन् । 

कतारलाई दिने भाले–पोथी हात्ती छनोट 

नेपालले कतारलाई दिने दुई हात्तिको छनोट समेत गरिसकेको छ । खगेन्द्र प्रसाद र रुद्रकली नेपालले कतारलाई दिने गरि छनोट गरेको छ । खगेन्द्र र रुद्रकली दुवै स्वस्थ, इमान्दार, विदेशमा पनि सहज रुपमा रहन सक्ने किसिमको रहेको बताइएको छ । यी दुबै हात्ति तालिम लिनेमध्ये गतवर्षका उत्कृष्ट पनि हुन् । विदेशी मुलुकलाई दिने हात्ति आकर्षक र उत्कृष्ट हुनुपर्ने सरकारी निर्देशन अनुसार यी दुई हात्तिलाई दिने तयारी गरिएको बताइएको छ । 

खगेन्द्र प्रसाद र रुद्रकलीको जीवन

खगेन्द्र २०७६ को माघमा चितवन राष्ट्रिय निकुञ्जको खोरसोरमा रहेको हात्ति प्रजनन केन्द्रमा जन्मिएको हो । ५ वर्ष पुग्नै लागेको खगेन्द्रलाई जदुसिंह थारुले हुर्काउने र तालिम दिने काम गरिरहेका छन् । खगेन्द्रको तौल अहिले एक हजार एक सय ९० केजी छ । यस्तै, रुद्रकली पनि हात्ति प्रजनन केन्द्रमै २०७५ असोज २३ गते जन्मिएको हो । पुजाकलीले जन्माएकी रुद्रकलीको रेखदेख दुई जनाले गर्दै आएका छन् । रुद्रकलीलाई जन्म दिने पुजाकलीको भने रुद्रकली तीन महिनाको हुँदा नै मृत्यु भइसकेको छ । रुद्रकलीको तौल १२ सय केजी रहेको बताइन्छ । 

खगेन्द्र र रुद्रकलीका बुवा भने रोनाल्डो हुन् । चितवनमा रहेको रोनाल्डो चर्चित भाले हात्ति हो । रोनाल्डोका धेरै सन्तानहरु अहिले हुर्किदै गरेका छन् ।

कतारले माग्यो माहुते

कतारले नेपालबाट दुई हात्तिहरु लैजाने भएपछि हात्ति स्याहार गर्नका लागि स्थानीय सरकारी सेवा सुविधा सबै दिने सर्तमा माहुते पनि पठाउन आग्रह गरेको छ । हात्ती नै पठाउने वा नपठाउने विषयमा निर्णय हुन नसक्दा माहुतेको विषय पनि अल्झिएको छ । नेपालले माहुते पठाउने गरि कुनै निर्णय समेत गरेको छैन् । 

जनावर उपहारको प्रचलन

नेपालले अहिलेसम्म विभिन्न देशहरुलाई ४७ वटा वन्यजन्तु तथा आखेटोपहार उपहार दिइसकेको छ भने १२० वटा घडियाल र मगर गोहीका अन्डा उपहार दिएको छ । हालसम्म सबैभन्दा धेरै २६ वटा गैंडा उपहार दिइएको छ । हात्ती उपहार भने पहिलोपटक दिन लागिएको हो । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update