News 24 Television
इलाम २ सरगर्मी : शीर्ष नेताहरूको अड्डा उतै, देखियो यस्ता रमिता 

काठमाडौँ । वैशाख १५ को उपनिर्वाचनको प्रचारका लागि बुधवार अन्तिम दिनसम्म इलाममा केन्द्रीय नेताहरुको बाक्लो उपस्थिति रह्यो । इलामको निर्वाचनले मिनी जनमतको संज्ञाका रुपमा विश्लेषण पाएसँगै एमाले, रास्वपा र नेपाली कांग्रेसले इलाममा विशेष परिश्रम गरिरहे । पहिचानको मुद्दा बोकी स्वतन्त्र उम्मेदवार बनेकाहरुको समूहको पनि चहलपहल मौन अवधि शुरु पहिलेसम्म दमदार नै रहयो । पछिल्लो एक महिनादेखि गर्माएको इलामको माहोल समग्रमा कस्तो रह्यो त ? 

वैशाख १५ को उपनिर्वाचनलाई दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । त्यसैले त एक सिटमा हुने निर्वाचनका लागि काठमाडाँैबाट इलाममा शीर्ष नेताहरुको ओइरो लागेको छ । पछिल्लो एक महिनाको निर्वाचन प्रचार माहोल हेर्दा सरकारका मन्त्रीहरु समेत भएभरका कामकाज छाडेर इलाममा डेरा जमाएका छन् । 

यसमा पहिलो नम्बरमा गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने आउँछन् । उनी आफुमात्र होइन, श्रममन्त्री रहेका पार्टीका उपसभापति डोलप्रसाद अर्याल, सहमहामन्त्री तथा शिक्षामन्त्री सुमना श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगाएतका नेताहरुले इलाममा चुनावी सभामा सम्बोधनमात्र गरेनन्, उम्मेदवार मिलन लिम्बुको चुनावी प्रचारमा घरघर जान भ्याए । सायद उपनिर्वाचनका लागि इलाम नपुगेका रास्वपाका केन्द्रीय नेता कोहि पनि रहेनन् । 

गत चैत्र १७ गते उम्मेदवारी घोषणा गर्नकै लागि पनि सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले लगाएतका नेता इलाम पुगेका थिए । भएभरको शक्ति प्रयोग गरेर रास्वपाले इलाममा चुनावी प्रचार सम्पन्न गर्यो । 

एमाले अध्यक्ष केपी ओली पनि आफ्ना उम्मेदवार सुहाङ नेम्वाङको पक्षमा माहोल बनाउन निक्कै व्यस्त देखिए । ५ वैशाखमा ओलीले इलामको मंगलबारेमा आयोजित चुनावी सभालाई सम्बोधन गरेका थिए । बुधबार चुलाचुलीमा आयोजित सभालाई ओलीले सम्बोधन गरे । इलाममा ओलीको यो सक्रियता लोभलाग्दो देखियो । 

नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा इलाममा चुनावी कमाण्डरनै खटिएका छन् । अर्का महामन्त्री गगन थापाले पनि पटक पटक इलामको चुनावी सभालाई सम्बोधन गरेका थिए । उपसभापति धनराज गुरुङ, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, नेता डा. शेखर कोइराला, प्रदीप पौडेल लगाएतले मतदाता भेटघाट तथा चुनावी प्रचार   गरे । 

इलामको चुनावी प्रचार यतिमै सीमित देखिएन । एकीकृत समाजवादीका तर्फबाट सम्मानीत नेता झलनाथ खनाल सक्रिय देखिएका छन् । आफैँले टिकटको आशा गरेका खनाल, टिकट नपाए पनि पार्टीका उम्मेदवार जितबहादुर राईको चुनावी अभियानमा व्यस्त रहे ।

 त्यस्तै राप्रपाबाट अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष रविन्द्र मिश्र लगायत पनि उम्मेदवार लक्ष्मी गुरुङलाई सघाउन इलाम पुगेका थिए । स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिमको मुख्य प्रचारक बनेको देखिन्छ र धरान उपमहानगरका मेयर हर्क सामपाङले पनि इलाममा चुनावी माहोल बनाउन भ्याए । निर्वाचनको सम्मुखमै आइपुग्दा शीर्ष नेताहरुको सक्रियता रोचक नै देखियो । बुधबार रातिबाट भने चुनावी प्रचार गर्न पाइने छैन ।

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update