News 24 Television
वेस्ट इण्डिज ‘ए’ मा सिनियर खेलाडी, नेपालसामु फलामको च्यूरा 

काठमाडौँ । आगामी जुन पहिलो साता अमेरिका र वेष्ट इन्डिजमा टी २० विश्वकप सुरु हुँदैछ । सन् २०१४ को विश्वकपमा छनोट भएको नेपालले १० बर्षपछि फेरी विश्वकपको टिकट काटेको छ । अबको एक महिनापछि विश्वकप क्रिकेटको मञ्चमा नेपालको झण्डा फहरिने छ । विश्वकपको अन्तिम तयारीस्वरुप नेपालले टेस्ट राष्ट्र वेष्ट इन्डिजको ‘ए’ टोलीलाई आफ्नो घरमा भित्र्याएको छ । शनिबारबाट सुरु हुने ५ खेलको सिरिजमा राम्रो प्रदर्शन गरेर उच्च मनोवलका साथ नेपाली टोली विश्वकपमा प्रस्तुत हुने तयारीमा छ । 

आगामी जुन पहिलो साताबाट सुरु हुने टी–२० विश्वकपका लागि नेपालको तयारी अन्तिममा आइपुगेको छ । १० वर्षपछि विश्वकपमा छनोट भएको नेपाली टोलीका लागि राम्रो प्रदर्शन गर्दै विश्वलाई देखाउने अवसर छ । त्यसैका लागि एक महिनादेखि नेपालले बलियो तयारी गरिरहेको छ । नेपालले आफ्नो अन्तिम तयारीस्वरुप वेष्ट इन्डिज ए सँग पाँच खेलको सिरिज खेल्दैछ । शनिवारबाट सुरु हुने सिरिजका लागि नेपालले आफ्नो टोली घोषणा गरिसकेको छ । टेस्ट राष्ट्र वेस्ट इन्डिजको ए टोली नेपालका लागि निक्कै बलियो प्रतिस्पर्धी हो । बलियो टोलीसँग कडा प्रतिस्पर्धा प्रस्तुत गरेर विश्वकपमा प्रस्थान गर्ने अवसर नेपालसामु छ । 

विश्वकपमा नेपाल रहेको समुहमा बंगलादेश, दक्षिण अफ्रिका, श्रीलंका र नेदरल्याण्डस् रहेका छन् । बंगलादेश, दक्षिण अफ्रिका र श्रीलंका तीनै टोली टेस्ट मान्यताप्राप्त बलीया टोली हुन् । नेदरल्याण्ड एसोसियट राष्ट्र भएपनि पाँच पटक टी–२० विश्वकप खेलिसकेको छ । तुलनात्मक रुपमा नेपालभन्दा बलियो प्रतिस्पर्धीलाई हराउँदै अघिल्लो चरणमा जानु नेपालका लागि अत्यन्तै कठीन छ । त्यसैले नेपालले कुनैपनि दवावबाट मुक्त भएर बलियो प्रतिस्पर्धा पेश गर्नुपर्ने क्रिकेटका जानकारहरु बताउँछन् । 

विश्वकपको तयारी स्वरुप यसअघि नेपालले भारतको गुजरात र बरोडाको टोलीसँग ‘एसएमएस फ्रेण्डसिप कप’ खेलेको थियो । मैत्रीपूर्ण प्रतिस्पर्धा जितेको नेपाली टोलीले लगत्तै ओमानमा भएको एसीसी प्रिमियर कपमा भने उच्च प्रदर्शन गर्न सकेन । डिफेन्डिङ च्याम्पियनको रुपमा प्रतिस्पर्धा गरेको नेपाल सेमिफाइनलमा युएईसँग पराजित भएपछि एसिया कप टी २० खेल्ने अवसर समेत गुमाउन पुग्यो ।

विश्वकपको मुखैमा पछिल्लो प्रदर्शनले क्रिकेट समर्थकमाझ निराशा छाएको छ । नेपाली टोलीको मनोबल समेत कमजोर बनेको छ । यद्यपि, घरेलु मैदानमै आसन्न सिरिजमा बलियो प्रदर्शन गरेर विश्कप अघि उच्च लय समाउने मौका नेपाली टोलीसामु छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update