News 24 Television
देश विकास हुन नसक्नुका कारण खोतल्दै सरकार

काठमाडौँ । राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजना छलफलका लागि बिहीबार राष्ट्रिय विकास परिषदको बैठक बसेको छ । बैठकले सरकारको १६ औं योजनालाई अन्तिम रूप दिने गरि छलफल गरेपनि यसमा विभिन्न सुझावहरु प्राप्त भएका छन् । मुलुकको सर्वाङ्गीण विकास र वृहत्तर हीतका लागि डाकिएको बैठकमा वक्ताहरुले १६ औं योजना सफल पार्नका लागि तदारुकताको खाँचो औँल्याएका छन् । 

राष्ट्रिय विकास परिषद्को बैठकमा राष्ट्रिय योजना आयोगले तर्जुमा गरेको अल्पकालीन, दीर्घकालीन वा आवधिक विकास योजनाको विषयमा छलफल भएको छ । बैठकमा पूर्वप्रधानमन्त्रीदेखि पूर्वअर्थमन्त्रीसहित प्रधानमन्त्रीको उपस्थिति थियो जसमा मुलुकको विकास यात्राबारे चर्चा गरिएको छ । यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आर्थिक वृद्धिको गति बढाउने गरी योजना बनाउन आवश्यक रहेको बताएका छन् । उनले योजनाहरु सफल पार्नु भन्दाअघि विगतका योजनाहरु कति सफल भए भन्नेबारेमा निर्मम समीक्षा हुनुपर्नेमा जोड दिए ।

यता पूर्वअर्थमन्त्री समेत रहेका एमाले नेता डा. युवराज खतिवडाले भने योजना तर्जुमा गर्ने बेला नै नेपालको आवश्यकतालाई दृष्टीगत गर्नुपर्नेमा जोड दिएका छन् । खतिवडाले आर्थिक समृद्धिका आधारभुत तत्वहरुलाई पहिलो प्राथमिकतामा राखेर १६ औं पञ्चवर्षीय योजना बनाउनुपर्ने सुझाव दिए । 

आर्थिक वृद्धिदर कसरी हासिल गर्न सकिन्छ र नेपालीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्नेमा केन्द्रित रहेका कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले भने १६ औं पञ्चवर्षिय योजनाले तर्जुमा रेको आर्थिक वृद्धिदर हासिल गर्न नसकिने दाबी गरे ।

तर, पूर्वप्रधानमन्त्री माधव नेपाल भने योजना छनोटमै सरकार चुकिरहेको दाबी गरिरहेका छन् । सरकारले गेम चेन्जिङ प्रोजेक्टहरुको छनोट गर्न नसकेको नेता नेपालको छ ।

यता प्रधानमन्त्री प्रचण्डले अहिले देशको आवश्यकता उत्पादन वृद्धि र रोजगारी सिर्जनामा सबै प्रयासहरु केन्द्रित गर्दै सुशासनमार्फत सामाजिक न्याय र समृद्धि हासिल गर्नु रहेकोमा जोड दिए ।

मुलुकको विकास योजना र कार्यान्वयनको पक्षमा सरकारले दृढता देखाउनुपर्ने र सबैको समर्थन हुनुपर्नेमा आरोप–प्रत्यारोप भने रोकिन सकेको देखिन्न ।

राष्ट्रिय योजना आयोगले तय गरेका योजनाहरु किन समयमै पुरा हुन सक्दैनन भन्ने समिक्षामा समेत बजेट निर्माण प्रक्रियादेखि आयोजना छनोटको वियषलाई पारदर्शी बनाउनुपर्नेमा केन्द्रित हुनुपर्ने बहस प्रगति विवरण खोज्ने प्रतिष्पर्धामा अल्झिने गरेको छ । विगतबाट पाठ सिक्दै नयाँ के गर्न सकिन्छ भन्नेमा बहस छलफल केन्द्रित हुन नसकेमा भने यस्ता छलफलको खास औचित्य नहुने स्थिति छ । 


 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १०:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update