News 24 Television
मन्त्रीमा छायो बेरोजगारी ! बागमतीमा लफडाको संकेत 

मकवानपुर । रमा आलेमगर वागमती प्रदेश सरकारको मन्त्री पदमा नियुक्त भएको एक महिना   पुग्नै लाग्यो । एक हप्ताभित्रै मन्त्रालयको जिम्मेवारी तोक्ने सर्तमा उनी मन्त्रीमा नियुक्त भएकी हुन् । तर, अहिलेसम्म उनलाई मन्त्रालयविहीन बनाइएको छ । 

दलगत रुपमा मन्त्रालय भागवण्डाको विषय मिल्न नसक्दा विना विभागिय मन्त्रीको जिम्मेवारी कै विषयले प्रदेश सरकारमा लफडा बढेको छ । 

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गएको चैत १९ गते विश्वासको मत लिइ सरकार सुरक्षित गरेसँगै प्रदेश सरकारमा एकीकृत समाजवादीकी सांसद रमा आले मगरलाई मन्त्री नियुक्त गरेका थिए । तर, गएको चैत २० मा शपथ ग्रहण गरेकी उनले अहिलेसम्म मन्त्रालय पाउन सकेकी छैनन् । 

प्रदेशमा १२ मन्त्रालय रहेको बागमतीमा १३ मन्त्री नियुक्त गरेका मुख्यमन्त्री जम्कट्टेलले मन्त्री व्यवस्थापनका लागि सत्तारुढ दलहरूबिच सहमति जुटाउन सकिरहेका छैनन् । मुख्यमन्त्री जम्कट्टेलले मौजुदा मन्त्रीपरिषदमा चैत २० मा एमालेबाट थप ४ मन्त्री नियुक्त गरेका थिए । 

एमालेका ४ जनाको विभाग तोकिँदा मन्त्री आले मगर भने जिम्मेवारीविहीन बनिन् । अबको केही दिनभित्र जिम्मेवारी नतोकिए मन्त्रीपदबाट राजीनमा दिने मन्त्री आलेमगर बताउँछिन् । 

यदि, मन्त्री आलेले राजीनामा दिने अवस्था आए यसलाई नेकपा एसतर्फको सिंगो पार्टीकै राजीनाका रुपमा बुझ्नु पर्र्नेे नेकपा एसका नेताहरु बताउँछन् ।  

नेकपा एस बागमती संसदीय दलका नेता कृष्ण प्रसाद शर्मा मुख्यमन्त्रीले कसरी जाने भन्ने बिषयमा छलफल नै नगरेको बताउँदै हाल रहेको नेकपा एसका तीनै जना मन्त्रीले निरन्तरता पाउनुपर्ने आफ्नो दलको अडान रहेको उनको भनाइ छ । 

नेकपा यसको राजीनामाको चेतावनी आइरहँदा विना विभागीय मन्त्रीको व्यवस्थापनका लागि प्रदेश सरकारले तयारी गरिरहेको बताइएको छ । 

प्रदेशमा १२ मन्त्रालय राख्ने वा १३ मन्त्रालय बनाउने भन्नेबारे दलहरूबिच छलफल भइ अन्तिम रुप दिन बाँकी रहेकाले निर्णय छिटै हुने प्रदेश सरकारका प्रवक्ता गंगानाराण श्रेष्ठ बताउँछन् । 

कांग्रेसहितको पहिलेकै गठबन्धन सरकारमा एकीकृत समाजवादीबाटै श्रम रोजगार तथा यातायात मन्त्री रहेका लक्ष्मण लम्साल र कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका डा. राजेन्द्रमान श्रेष्ठलाई हालको पुनर्गठित सरकारमा पनि यथावत् राखिएको छ । यस पटक थपिएकी आलेमगरलाई भने मन्त्रालय नपुगेको हो । 

सिट संख्याका आधारमा एकीकृत समाजवादीले २ वटा मात्रै मन्त्रालय पाउने भएकाले त्यही दुई मन्त्रालयमध्ये एउटा खाली गरी बिनाविभागीय मन्त्री आलेमगरलाई दिन माओवादी केन्द्र र एमाले दुवैले माग गरेका थिए । तर एकीकृत समाजवादीबाट पहिलेदेखि मन्त्री रहेका लम्साल र श्रेष्ठ दुवै पछि हट्न तयार नभएपछि बागमती प्रदेशमा मन्त्रालय संख्या बढ्ने संकेत देखिएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update