News 24 Television

काठमाडौं । प्रधानमन्त्री प्रचण्डसँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सीआईडीसीए) का अध्यक्ष लु झाउहुईले शिष्टाचार भेटवार्ता गरेका छन् । 

भेटमा चिनिया पक्षले नेपालमा लगानी गर्ने विषयदेखि दुई देशबीचको सम्बन्धको बारेमा छलफल भएको बताइएको छ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ प्रतिनिधिमण्डलले यसरी गरेको भेटवार्ताले कस्तो प्रभाव पार्ला त ? उत्तरी छिमेकी चीन नेपाल सामरिक द्वन्द्धमा धकिलिदा चीनलाई समस्या सिर्जना हुन्छ भन्नेमा सचेत देखिन्छ । 

चीनले नेपाललाई सन्तुलनमा ल्याएर वामपन्थी सरकार र स्थिर राजनीति बनेमा चीनविरोधी गतिविधि नहुनेमा विश्वस्त देखिन्छ । 

यहि अनुसार नेपालमा उसले व्यवहार गर्न खोजेको देखिन्छ । तर, चिनियाँ पक्षले नेपालको हितभन्दा पनि आफ्नो मुलुकको तिब्बत क्षेत्रमा हुनसक्ने सम्भावति खतरालाई केन्द्रमा राखेर निर्णय लिने गर्दै आएको छ । 

यस्तोमा चीनले पछिल्लो समय धेरै नाकाहरु खुला गरेर नेपालसँग थप दोस्तियारीको ढोका समेत खोलेको छ । यसले चीन नेपालप्रति सकारात्मक नै छ भन्ने सन्देश समेत दिएको देखिन्छ । 

उच्चस्तरीय भ्रमणमा नेपाली पक्षले दिएको जोड र चिनियाँ कम्युनिष्ट पार्टीले नेपालबाट विभिन्न समयमा गराउने अवलोकन भ्रमणले पनि चिनियाँ चासो नेपालमा कस्तो छ भन्ने सन्देश प्रष्ट हुँदै गएको छ । 

यस्तोमा प्रधानमन्त्री प्रचण्डलाई चाइना  डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए) का अध्यक्ष लु झाउहुईले शिष्टाचार भेट गर्दै नेपालमा चिनियाँले विभिन्न क्षेत्रमा लगानी गर्न चाहेको विषय राखेका छन् । 

चिनियाँले नेपालको विद्युत प्रशारण लाइन र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनमा लगानी गर्न चाहेको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। चीनबाट विभिन्न क्षेत्रका लगानीकर्ताहरु समेत नेपाल आउने बताइएको छ ।

यता प्रधानमन्त्री प्रचण्डले समेत नेपालमा हुन लागेको लगानी सम्मेलनमा चिनियाँ पक्षको सहयोग र समर्थन आवश्यक परेको जानकारी गराएका थिए । 

अर्थ मन्त्रालयमा सम्झौता

नेपाल र चीनबीच मानव संशाधन विकास र बोनम्यारो प्रत्यारोपण सम्बन्धी दुई सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आयोजित एक समारोहबीच विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो । 

उक्त सम्झौता अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेल तथा चीनका तर्फबाट चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा हस्ताक्षरपछि चाइना इन्टरनेशनल डेभलेपमेण्ट को–अपरेशन एजेन्सीका प्रमुख लियु झाओ हुईले नेपालसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशाधन विकास सहयोगसम्बन्धी र बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौताका लागि र लगानी सम्मेलनमा सहभागिता जनाउनको लागि नेपाल आएको बताए। 

उनले चीन सरकारले गर्ने साहयता र अनुदान लगायतका सहयोग आदानप्रदानलाई निरन्तरता दिँदै जानेमा विश्वास समेत व्यक्त गरे । लगानी सम्मेलनको सम्मुखमा चीनको यो सक्रियतालाई अर्थ कूटनीतिको बलियो कडीसँग तुलना गरिएको छ । 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update