News 24 Television
वेस्ट इण्डिजमाथि हावी भयो नेपाल

काठमाडौं । नेपालको दाँजोमा निक्कै बलीयो टोली वेस्ट इन्डिज ‘ए’ सँग नेपालको बोहनी निकै उत्साहजनक भएको छ । पहिलो खेलमा नेपालले रोमाञ्चक जित निकालेको छ । विश्वकप तयारीको अन्तिम सिरिजको पहिलो खेलमा नेपालको यो प्रदर्शनले टोलीको हौसला बढेको छ । यद्यपी यो जितले टोलीको थुप्रै कमजोरीहरु भने छायाँमा परेको छ । 

खराब लयमा रहेको नेपालको ओपनिङ ब्याटिङमा सुधार देखिएको छैन । मुख्य बलरले सोचेअनुरुपको प्रदर्शन गर्न सकेका छैनन् । 

सिरिजको बाँकी ४ खेलमा यी पक्षहरु सुधार गरेर विश्वकपमा प्रस्तुत हुनुपर्ने देखिएको छ । पाँच खेलको सिरिज खेल्न काठमाडौँ आएको वेस्ट इन्डिजको ए टोलीलाई पहिलो खेलमा नेपालले ४ विकेटले पराजित गरेको छ । 

कप्तान रोहित पौडेलको बिस्फोटक ब्याटिङको मद्दतले बलियो टोली वेस्ट इन्डिज ए लाई नेपालले पराजित गरेको छ । 

समान २÷ २ पटक एक दिवसिय तथा टी २० विश्वकप विजेता वेस्ट इन्डिजको ए टोली नेपाल भ्रमणमा आएको सबैभन्दा शक्तिशाली टोली हो । 

टी २० विश्वकप तयारीको अन्तिम सिरिजमा नेपालको यो प्रदर्शनले खेलप्रेमीहरुको मुहार उज्यालो बनाएको छ । एसीसी प्रिमियर कपमा बिर्सनलायक प्रदर्शन गरेको नेपाली क्रिकेट टोलीलाई वेस्ट इन्डिजको बलियो चुनौती पन्छाउनु सजिलो थिएन । यो जितले नेपाली क्रिकेट टोलीलाई फेरी लयमा फर्काएको छ । 

जितका बाबजुत पनि नेपाली टालीमा देखिएका प्रशस्त कमजोरीहरु भने सुधारिएको छैन । सबैभन्दा ठुलो समस्या बनेको ओपनिङ ब्याटिङ, यो खेलमा पनि चल्न सकेन । 

कुशल भुर्तेलको खराब लय कायमै रह्यो भने आसिफ शेखको ठाउँमा आएका अनिल कुमार शाहले पनि प्रभाव जमाउन सकेनन् । 

रोहित बाहेक अन्य ब्याट्सम्यानको गैरजिम्मेवारपूर्ण प्रदर्शन यो खेलमा पनि देखियो । यद्यपी कप्तान रोहितले ५४ बलमा १ सय १२ रनको बिस्फोटक ब्याटिङ गरेपछि ब्याटिङपक्षको कमजोरी केहि छोपिएको छ । 

पहिलो दिनको खेलमा नेपाली टोलीका लागि अर्को खुशीको विषय भनेको अभिनास बोहोरा लयमा फर्कनु हो । बलिङमा खराब लयमा चलिरहेका अभिनासले वेस्ट इन्डिज ए विरुद्द किफायती बलिङ गर्दै ४ ओभरमा २८ रनमात्र खर्चेर १ विकेट लिए । दिपेन्द्रसिंह ऐरीको अलराउन्ड प्रदर्शन यो खेलमा पनि देखियो । तर बलिङ पक्षमा मुख्य बलरले सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन । 

क्रिकेटमा पार्ट टाइम बलरमा निर्भर हुनु सधैँ भरपर्दो मानिँदैन । मुख्य बलर सोमपाल कामी र करण केसीलाई आराम दिएर तीब्र गतिका बलर कमलसिंह ऐरीलाई मौका दिएपनि उनको प्रदर्शन त्यति खास रहन सकेन । यद्यपी कुनै समय २ सय ५० भन्दा बढि रन बनाउन सक्ने आंकलन गरिएको वेस्ट इन्डिज ए लाई २ सय ५ रनमा रोक्नु नेपाली पक्षको सफलता नै मान्न सकिन्छ । 

अबका बाँकी ४ खेलमा पनि यस्तै प्रर्दशन गरेर सबै खेलाडीहरुले आफ्नो लय समाउन सके एक महिनापछि सुरु हुने विश्वकपमा सम्मानजनक प्रदर्शन गर्नेमा कुनै आशंका छैन । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०६:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update