News 24 Television
लगानी सम्मेलन : चुनौतिका चाङभित्र अवसरको आशा    

काठमाडौं । नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन भन्दै सरकारले लगानी सम्मेलनको आयोजना गरेको छ । पाँच वर्षपछि हुन लागेको लगानी सम्मेलनमा सरकारलाई विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षासँगै लगानी गर्न योग्य वातावरणको विश्वनीयता देखाउने चुनौती छ । 

लगानी सम्मेलन सफल हुन्छ वा हुँदैन भन्दा पनि नेपाल लगानीका लागि आकर्षक गन्तव्य हो भन्ने आधार तयार गर्ने प्रयास सरकारले गरेको देखिन्छ । 

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर  कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नतिका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ लगानी सम्मेलन हुँदैछ । 

वैशाख १६ गते आइतबारदेखि १७ गतेसम्म आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिदैछ । 

यातायात क्षेत्रका १९, खानी तथा खनिजजन्य क्षेत्रका १३, पर्यटन क्षेत्रका १३, कृषिका १४, उत्पादन क्षेत्रका पाँच, औद्योगिक पूर्वाधार तथा व्यापारसम्बन्धी सात, स्वास्थ्य तथा शिक्षा क्षेत्रका तीन, सञ्चार तथा सूचना प्रविधि क्षेत्रका दुई, पानी आपूर्तिका चार र सहरी विकास क्षेत्रका छवटा परियोजना छन् । 

निजी क्षेत्रबाट प्रस्तुत ३१ वटा परियोजना पनि बाह्य लगानीका लागि समावेश गरिएको छ । तर, सरकारले यसअघि गरेको दुईबटा लगानी सम्मेलन खासै उपलब्धी मूलक भने बन्न सकेनन् । 

लगानीकर्ताहरुले सम्मेलनले लक्ष्य गरेका परियोजना र क्षेत्रमा चाहे अनुसारको लगानी भित्र्याउन चासो नदिएपछि अहिलेको सम्मेलनप्रति पनि आशंका गरिएको छ । 

तर सरकारले लगानी सम्मेलनलाई लक्षित गरी ९ कानुन तथा नियमावलीमा संशोधनको तयारी गरेको छ । लगानी सम्मेलनसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालय पुगेको छ । लगानी भित्र्याउन सरकार अधिकतम प्रयासमा छ । 

लगानी बोर्डको तथ्यांकलाई हेर्ने हो भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको छ । 

त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि एक खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको छ । 


 

लगानी सम्मेलनबारे सरकार उत्साहित देखिन्छ । लगानी बोर्डको कार्यालयले सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । 

सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ । तर, लगानी सम्मेलनमा कति सहभागी भए भन्दा पनि कति भित्रियो र त्यसको कार्यान्वयन कति भयो भन्नेले  सम्मेलनको महत्तव बढाउने छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update