News 24 Television
रेशमसामू रञ्जिता लुरुक्कै : प्रचण्डमाथि खतरा कि के ?

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको विवाद साम्य भएको भन्दै सार्वजनिक भएका सन्देशमा आशंका थप बढेर गएको देखिन्छ । 

नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीबीच मेलमिलाप भएको दाबी गरिएपनि रेशमले गरेको दाबीमा सत्ता स्वार्थको राम्रो प्रभाव परेको विश्लेषण शुरु भएको छ । 

सत्ता समीकरण फेरिएपछि बढेको विवादपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशमलाल चौधरीले शनिबार प्रेमिल फोटो सेयर गर्दै मेलमिलाप भएको सन्देश दिन एकैसाथ देखिए । 

रेशमले पार्टी र सरकार दुबै चलाउने जिम्मा आफूलाई आएको दाबी गर्दै गरेको पोस्टलाई रञ्जिताले समेत सेयर गरेकी छन् । एकपछि अर्को गर्दै फोटो सेयर गरिरहेका रेशम रञ्जिता अब मिली सकेको दाबी गरिरहेका छन् । 

प्रचण्ड नेतृत्वको सत्ता गठबन्धनलाई साथ दिने रञ्जिताको हठ र कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा जानुपर्ने रेशमको हठ अब निर्णायक मोडमा पुगेको विश्लेषण हुन थालेको छ । 

रेशम रञ्जिताले एकले अर्कोलाई संगिन आरोप लगाउदै पार्टी विभाजनको तहसम्म पु¥याएपनि अन्ततः मिलेको सन्देश दिन खोजेका छन् । तर, के उनीहरुको मिलाप सम्भव होला ? शंका भने गर्न थालिएको छ ।

अदालतमा रञ्जिताले रेशमलाई लगाएको आरोप

नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनको वैधानिकता खोज्दै सर्वोच्च अदालत गएका रेशम चौधरीले रञ्जितालाई विपक्षी बनाएपछि उनीहरुबीचको विवाद थप उत्कर्षमा पुग्यो । 

रञ्जिताले रेशमलाई नैतिक रुपमा पतन भएको व्यक्ति भएकाले पार्टीको साधारण सदस्य समेत बन्न नमिल्ने जिकिर गर्दै अदालतमा प्रतिउत्तर पठाएकी छन् । 

उनले टीकापुर नरसंहारको विषयलाई जोड्दै रेशममाथि संगिन आरोप लगाउदै पार्टीको अध्यक्ष बनेको विषयलाई अवैध र कानून विपरितको भनेकी छन् । 

अदालतमा उनले पेश गरेको जवाफपछि रेशम रञ्जिता अहिले पक्ष विपक्षमा उभिएका छन् । 

पार्टीको जिम्मा रेशमलाई !

रञ्जिताले रेशमलाई नागरिक उन्मुक्ति पार्टी र सरकारबारे निर्णय लिने अधिकार दिएको रेशमको दाबी छ भने रञ्जिताले पनि त्यो पोस्टलाई सेयर गर्दै सहि थापेकी छन् ।

रञ्जिताले केही दिन पहिले एक सञ्चारमाध्यममा अन्र्तवार्ता दिँदै रेशमले प्रधानमन्त्री प्रचण्डसँग उपप्रधान एवम् मन्त्री पद मागेको भन्दै हुनै नसक्ने माग राखेको भनि बदनाम गरेकी थिन् । 

त्यतिमात्रै होइन, रञ्जिताले सर्वोच्चमा बुझाएको जवाफमै रेशम अध्यक्ष बन्न अयोग्य रहेको दाबी छ । तर, उनै अयोग्य पात्रलाई रञ्जिता अहिले पार्टीको जिम्मेवारी दिन कसरी तयार भइन् ? यो विषय समेत रोचक बन्न पुगेको छ ।

सरकारबाट बाहिरिने दाबी

रेशमले लुम्बिनी र सुदूरपश्चिम सरकारबाट बाहिरिने घोषणा गरेका छन् । पार्टी र सरकार चलाउने जिम्मा आफ्नो काँधमा आएको दाबी गरेका रेशमले लुम्बिनी र सुदूरपश्चिम सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने घोषणा गरेपछि अब सत्ता समिकरणमा उथलपुथल हुने संकेत देखा पर्न थालेको छ । 

तर, के रञ्जिताले रेशमविरुद्ध गरिरहेको सत्ताको लडाईलाई अब विसाउलिन ? यो समेत अनुत्तरित प्रश्न बनेको छ । 

सुदूरपश्चिमको संकट

सुदूरपश्चिम सरकारमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले नेतृत्व लिइरहेको छ । नेकपा एस नेतृत्वको सरकारमा एमाले जान नमानिरहेको बेला माधव नेपालले गठबन्धन तुहाउने चेतावनी दिइरहेका छन् । 

माधव चिढिएकै बेला नाउपाले समर्थन फिर्ता लिएमात्रै पनि नेकपा एस नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । 

त्यसपछि त्यहाँ नयाँ समिकरणको अभ्यास सुरु हुने देखिन्छ । भने लु्म्बिनीको सत्ता समिकरणमा समेत संकट आउने देखिन्छ । 

परिवारको फेरोमा नाउपा

परिवारको कचिंगलबाट उन्मुक्त हुन नसक्दा नागरिक उन्मुक्ति पार्टी फुटको संघारमा पुगेको थियो । रेशम रञ्जिताबीचको विवादका कारण देखिएको संकटलाई पार लगाउने कोसिसमा अब कारबाही प्रक्रिया फिर्तादेखि मुख्यमन्त्रीको दाबी लगायतका विषय समेटिएको दाबी गरिएको छ । 

रेशम–रञ्जिताबीचको विवाद सिर्जित अवस्थाको भन्दै रञ्जिता आफैले पनि यसको स्वीकार गरेकी छन् । 

आफूहरुलाई भिडाउनेहरु पराजित भए भन्दै रञ्जिताले अब रेशमसँगै मिलेर जाने दाबी गरेकी छन् । तर, पार्टी परिवारको झगडाको चेपमा फस्दा देखिएको ताण्डप भने अन्त्य होला ? आशंका कायमै छ । 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update