News 24 Television
इलाम उपनिर्वाचन : एमाले उम्मेदवार नेम्बाङ मतान्तर बढाउँदै

फिक्कल । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनमा हालसम्म २० हजार बढी मत गणना भइसकेको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्बाङले मतान्तर बढाउँदै लगेका छन्। हालसम्मको मत गणनाअनुसार नेम्बाङले दश हजार एक मत प्राप्त गरेका छन् ।  

नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ६ हजार ९४४ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले चार हजार ९ सय ५१ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार चार सय ४५ मत प्राप्त गरेका छन् । 

हिले माङसेबुङ गाउँपालिका–१ को मतगणना भइरहेको छ । इलाम–२ मा फाकफोकथुम गाउँपालिकाका सबै सात वटा वडा, चुलाचुली र माङसेबुङ गाउँपालिकाका सबै छ÷छ वडा, माई नगरपालिकाका ६, ७ र ८ वडा, देउमाई नगरपालिकाका सबै नौ वडा र इलाम नगरपालिकाका ११  वडा (१) बाहेक गरी ४२ वडा पर्दछन् ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । उपनिर्वाचनमा १२ राजनीतिक दल र सात स्वतन्त्रसहित १९ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।  

विसं २०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा एमालेका सुवासचन्द्र नेम्बाङ ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update