News 24 Television
चर्चामा आएको रास्वपा पुछारमा, पहिचानवादीको कांग्रेससँगै टक्कर

काठमाडौँ । इलाम उपनिर्वाचनको मतगणना चलिरहँदा पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमले उल्लेख्य मत प्राप्त गरेका छन् । नेकपा एमाले तथा नेपाली कांग्रेसको बलियो प्रतिस्पर्धाका बिचमा थेगिमले प्राप्त गरेको मत मननयोग्य छ । डकेन्द्र विजयी नभएपनि उनको पक्षमा देखा परेको माहोलले कोशी प्रदेशमा पहिचानको मुद्दा कमजोर छैन भन्ने विश्लेषणहरुलाई प्रमाणित गरेको छ । 

कोशी प्रदेश नामाकरणको विषयमा आपत्ति जनाउँदै सुरु भएको पहिचान पक्षधरहरुको आन्दोलनले संगठनकै रुप लियो । कोशी प्रदेशको प्रभावशाली राजनीतिक माहोल भएको जिल्ला इलाममा सम्पन्न यो उपनिर्वाचन पहिचानको मुद्दालाई जाँच्ने माध्यम बनेको थियो । पहिचानवादी संगठनहरुका तर्फबाट डकेन्द्रसिंह थेगिमलाई साझा उम्मदेवार घोषणा गरेर चुनावी प्रचारप्रसार पनि गरियो । 

थेगिमका मुख्य प्रचारक बने धरान उप–महानगरपालीकाका मेयर हर्क सामपाङ । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगाएतले आफ्नो भरपुर शक्ति इलाममा केन्द्रीत गर्दा स्वतन्त्र उम्मेदवारी दिएका थेगिम केहि छायाँमा परेका थिए । तर पनि कोशी प्रदेशमा देखिएको पहिचान पक्षधरको माहोलले उनलाई ढाढस दिएको थियो । इलाम २ को मतगणनाको प्रारम्भदेखिनै पहिचान पक्षधरका उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई मतदाताको राम्रो साथ प्राप्त भएको देखियो । यसले कोशी प्रदेशमा पहिचानको मुद्दा कमजोर छैन भन्ने प्रमाणित गरिसकेको छ । 

कोशी प्रदेशमा पहिचानको आन्दोलन निक्कै चर्किएको थियो । पटक–पटक झडपको अवस्था सिर्जना हुँदा एकजनाको मृत्यु भयो भने दर्जनौँ घाइते भएका थिए । पहिचान पक्षधरका मुद्दाहरुलाई खुलेरै प्रतिकार गरेको नेकपा एमालेका अध्यक्षमाथि नै कोशी प्रदेशमा भौतिक आक्रमण भएको थियो । अन्य एमाले नेताहरु समेत आक्रमणको शिकार बने । आन्दोलन उत्कर्षमा हुँदा कोशी प्रदेशसभाको बैठक समेत प्रशासनको उच्च सुरक्षा घेराको सहायतामा गर्नुपरेको थियो । 

पहिचानवादीहरुको यो आक्रामकता इलाम उपनिर्वाचनमा देखिने आंकलन थियो । झण्डै ७० हजार मत खसेको इलाम २ को उपनिर्वाचनमा पहिचानवादी उम्मेदवार डकेन्द्र थेगिमको पक्षमा प्रतिस्पर्धात्मक मत देखियो । निर्वाचन जित्ने तहमा नपुगेपनि बलियो आधार भएका नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई उनले कडा टक्कर दिएका छन् । जबकि पछिल्लो एक महिनादेखि इलाममै केन्द्रीत भएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारलाई उनले हजारौँ मतले पछाडी छाडेका छन् । 

एकिकृत समाजवादी, राप्रपा लगाएतका दल तथा स्वतन्त्र गरी कुल १९ जना उम्मेदवार रहेको क्षेत्रमा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेससँग कडा प्रतिस्पर्धामा आउनुले पहिचानको मुद्दामा बलियो रुझान रहको स्पष्ट पारेको छ । 

पहिचान पक्षधरहरुको शक्ति मापन किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको प्रभावक्षेत्रबाट अझ राम्रोसँग गर्न सकिन्छ । डकेन्द्रलाई समर्थन गर्दै पहिचानको मुद्दामा अडिग रहन उनले माहोल बनाइदिएका थिए । उनको पकड रहेको माङसेबुङ ३ र ५ वडामा डकेन्द्रले मतदाताको बलियो साथ पाएको देखियो । लिङ्देनको कुटी रहेको वडा नं. ३ मा डकेन्द्रले १ हजार ३२ मत पाउँदा एमाले र कांग्रेसको पक्षमा १०० मत पनि देखिएन । 

२०५६ सालदेखि निरन्तर नेकपा एमालेका सुवास नेम्वाङ निर्वाचित हुँदै आएको एमालेको पकड क्षेत्र इलाम २ मा यो नतिजा पल्टाउन असम्भव जस्तै थियो । गत निर्वाचनमा नेपाली कांग्रेसले माओवादी, एकिकृत समाजवादी लगाएतका दलहरुसँग गठबन्धन गरेरै प्रतिस्पर्धा गर्दापनि एमालेले जित निकालेको थियो । 

यस्तोमा डकेन्द्रले प्राप्त गरेको मतले, आगामी निर्वाचनमा कोशी प्रदेशमा नयाँ राजनीतिक माहोल बन्नसक्ने स्पष्ट संकेत प्रदान गरेको छ । पहिचानको मुद्दा अब कोशीमा मात्रै नभई देशैभर सल्किने सम्भावना समेत बलियो बन्न थालको छ । पहिचान पक्षधरहरुमाथि जातियताको जलप लगाउने कामलाई मात्रै पहिचानवादीले चिर्न सकेमा फेरि मुलुकमा पहिचानको विषय पेचिलो बन्ने संकेत मिलेको छ ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update