News 24 Television
सरकारद्वारा संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस

काठमाडौँ ।  मन्त्रिपरिषद्को आज बसेको बैठकले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

बैठकले वैशाख २८ गते शुक्रबारका दिन अपराह्न २ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिए । 

त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समितिको अध्यक्ष पदमा उच्च अदालतका पूर्वन्यायाधीश श्रीमणकुमार गौतमलाई नियुक्त गर्ने निर्णयसमेत गरेको मन्त्री शर्माले बताए । 

त्यसैगरी जापानी परराष्ट्रमन्त्री कामिकावा योकोको आइतबार हुने नेपाल भ्रमणका अवसरमा द्विपक्षीय वार्ताका लागि नेपाली प्रतिनिधिमण्डल गठन गरी अख्तियारी दिने निर्णयसमेत गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले उक्त द्विपक्षीय वार्ताका लागि कार्यसूचीसमेत स्वीकृत गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  ०५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update