News 24 Television
प्रधानमन्त्री बन्न अनेकौँ उपाय रच्दै माधव नेपाल, जुटाउँदैछन् समर्थन !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पुनः एक पटक सरकारको नेतृत्व गर्ने इच्छा तीव्र व्यक्त गरिरहेका छन् ।  पूर्वप्रधानमन्त्री समेत रहेका माधवले यही कार्यकालमा प्रधानमन्त्री बन्न अन्य दलहरुसँग बेजोडताका साथ लभिङ गरिरहेका हुन् ।

जसका लागि उनी अहिले जसपा तथा काँग्रेससँग निरन्तर छलफल गरिरहेका छन् । तर संसदमा जम्मा १० सिट मात्रै भएको नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपालले अहिलेसम्म आफू प्रधानमन्त्री बन्ने कुनै आधार भेट्न सकिरहेका छैनन् । 

यसअघिको काँग्रेस माओवादी सहितको गठबन्धन हँदा पनि माधवले आफूलाई प्रधानमन्त्री बन्ने पालोमा राखेका थिए । जसमा प्रचण्डपछि माधव नेपाल र त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सर्त थियो । तर काँग्रेसलाई पाखा लगाएर एमालेसहितको नयाँ सत्ता समीकरण बनेपछि उक्त सर्तको औचित्य सकिएको छ । यद्यपि अझै प्रधानमन्त्री बन्ने आकांक्षालाई माधवले मारेका छैनन् । बरु अझ नयाँ गठबन्धन निर्माण गर्ने दाउ रचिरहेका छन् । 

नयाँ गठबन्धनका लागि माधवले नेपाली काँग्रेस, जसापा तथा स्वतन्त्रसहितका अन्य दलहरुको साथ खोजिरहेका छन् । उता वर्तमान गठबन्धनलाई कसैगरी टुटाउने भनेर ‘होमवर्क’ गरेर बसेको काँग्रेसले भने माधवलाई समर्थन गर्दै आइरहेको छ । 

काँग्रेस यतिमा मात्रै सिमित छैन, मिलेको अवस्थामा नेकपा एमालेसँगै सहकार्य गरेर माओवादीलाई नै पाखा लगाएर अर्को सरकार गठन गर्ने मनाशाय पनि राखिरहेको छ । तर यसमा एमाले अध्यक्ष ओलीले ग्रीन सिग्नल दिएका छैनन् । 

यसका लागि ओलीसँग देउवाले बारम्बार छलफल गरिरहेका छन् भने बिहीबार मात्रै शेखर कोइराला पनि यही प्रस्ताव बोकेर ओली निवास बालकोट पुगेका थिए । तर ओली हालकै सरकारलाई समर्थन गरेर व्यापक गुन लगाउने र भविष्यमा माओवादीबाट प्रशस्त सहयोग लिने दाउमा छन् । 

उता अहिले नै प्रधानमन्त्री बनिहाल्ने रहर पालेका माधवले भने ओलीमाथि कटुता साँधिरहेका छन् । उनले आफूलाई प्रधानमन्त्री बन्न नदिने मुख्य पात्र नै ओली हुने भन्ने अन्तिम निश्कर्ष निकालेका छन् । 

अघिल्लो गठबन्धन टुटेपछि माधवलाई नयाँ समीकरणमा ल्याउन प्रचण्ड–ओलीले ठूलै मेहनत गर्नु परेको थियो । त्यही बेला नै माधवले आफूलाई पनि प्रधानमन्त्री बनाइनुपर्ने सर्त राख्दै लिखित समझदारीको प्रस्ताव गरेको थिए । तर त्यही बेला ओलीले भविष्यको राजनीतिबारे कुनै लिखित समझदारी गर्न नसकिने बताएपछि माधव झन विच्किएका थिए । 

हालको सत्ता समीकरण अनुसार माधव नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जसपा निर्णयक भूमिकामा छन् । कतिपयले हाल स्वास्थ्यमन्त्री समेत रहेका जसपा अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेकाले उनी स्वदेश फर्कने वित्तिकै नयाँ समीकराण बन्ने दावी समेत गरिरहेका छन् । तर यसमा विश्वस्त भइहाल्ने अवस्था भने छैन । यद्यपि माधव नेपालले भने आफू प्रधानमन्त्री बन्न सक्रियता बढाइरहेका छन् । 

यसअघि गठबन्धनमा राष्ट्रियसभाको उपाध्यक्ष नेकपा एसलाई दिलाउन माधवले ठूलै प्रयास गरेका थिए । तर उक्त पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भइन् । 

यसले माधव अझ चिँढिएका थिए । नेकपा एसले सुदुरपश्चिमको मुख्यमन्त्री भने बाजी मारेको अवस्था छ । तर मुख्यमन्त्री पदलाई लामो समय टिकाइराख्न नेकपा एसलाई चुनौति देखिन्छ । यसप्रति एमालेले सकारात्मक संकेत दिएको छैन । 

यद्यपि सुदुरपश्चिममा नेकपा एसलाई मुख्यमन्त्री दिन भने प्रधानमन्त्री प्रचण्डले माधवलाई सहयोग गरेका थिए । तर पनि माधव भने पुरानो गठबन्धन व्युँताएरै भएपनि प्रधानमन्त्री बन्ने रेशमै छन् । 

निरङ्कुश शासन ढाल्न, शान्ति प्रक्रिया अघि बढाउन र जनतालाई न्याय दिलउनमा आफ्नो मुख्य भूमिका रहँदै आएको भन्दै माधवले जसैगरी प्रधानमन्त्री बन्ने चाहना व्यक्ति गरिरहेका छन् । तर सत्ता गठबन्धको मुख्य दल एमाले र माओवादी भने माधवको चाहनाप्रति सकारात्मक छैनन् । 

जुनसुकै मूल्य चुकाएर भएपनि प्रधानमन्त्री बन्ने माधवको सपनालाई काँग्रेससहितका अन्य दलहरुले कुन रुपमा लिन्छन् त्यो हेर्न बाँकी छ । 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update