News 24 Television
गण्डकी प्रदेशसभा बैठकमा काँग्रेसको विरोध

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभा बैठकबाट लिनुभएको विश्वासको मत लिने प्रक्रियाप्रति नेपाली कांग्रेसले असहमति जनाएको छ । 

सभामुखबाहेक प्रदेशसभामा कायम हुन आउने ५९ सदस्यमध्ये ३० बहुमत सदस्यको समर्थनका आधारमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएपछि कांग्रेसका प्रदेशसभा सदस्यले प्रदेशसभा बैठकमा नाराबाजी गरेका थिए ।  

संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुसार प्रदेशसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य सङ्ख्यामध्येबाट बहुमत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी सभामुखले संसदीय अभ्यास र परम्परा विपरीत विश्वासको मत पाएको घोषणा गरेको जनाउँदै  कांग्रेसले असहमति प्रकट गरेको हो । 

कांग्रेस प्रदेशसभा ससंदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उक्त निर्णय असंवैधानिक भएको जनाउँदै कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने बताए । 

कांग्रेस संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले ६० सदस्यीय प्रदेशसभाबाट मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ३१ सदस्यको समर्थन हासिल गर्नुपर्ने बताए । 

नेता पाण्डेले सभामुखले कुनै दलिय पक्षधरता नलिइ संविधान र प्रदेशसभा नियमावलीको अधिनमा रही तटस्थ भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गरे । 

सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको पछिल्लो पैmसलाका आधारमा नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र) सात र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ३० प्रदेशसभा सदस्यको बहुमतका आधारमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ०५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update