News 24 Television
प्रचण्ड खतरामा, माधव देखाउँदै केपीको नयाँ खेल !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको टकरावले केन्द्रीय सत्ता राजनीतिमै अस्थिरता मच्चाउने भएको छ । सुदूरपश्चिम प्रदेशसभा बैठक छलेर राजनीतिक परामर्शका लागि काठमाडौँमा रहेका नेकपा एमालेका सांसदहरुले पार्टी अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरे । 

सुदूरपश्चिममा मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई साथ दिन एमाले अध्यक्ष ओली सकारात्मक देखिएनन् । गत शुक्रबारनै प्रदेशसभाबाट विश्वासको मत लिन चाहेका मुख्यमन्त्री सोडारी एमालेको असहयोगका कारण रोकिए । अहिले पनि ओली रणनीति नेपाललाई सहयोग गर्ने नै देखिदा यसको प्रभावले केन्द्रीय सत्ता समीकरणमा  उथलपुथल ल्याउने विश्लेषण भइरहेका छन् । 

केपी ओली र माधव नेपालको टकरावले सुदूरपश्चिम प्रदेशमा सत्ता संकट झनै बढेको छ । यसको प्रत्यक्ष प्रभाव केन्द्रीय सत्ता गठबन्धनमा देखिरहेको छ । केन्द्र र प्रदेशमा एमाले र नेकपा एकीकृत समाजवादीबिचको दूरी बढेपछि समस्या सिर्जना भएको हो । सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन ठिक परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्कालै विश्वासको मत लिनबाट रोक्न एमाले संसदीय दलका नेता राजेन्द्र रावल लगाएतका सांसदहरु काठमाडौँमा छन् । 

काठमाडौँमा रहेको टोलीलाई एमाले अध्यक्ष ओलीले विश्वासको मतमा हतार नगर्नु भनेर निर्देशन दिएका छन् । यसले सुदूरपश्चिमको राजनीति झन् गर्माएको छ । केन्द्रमा नेकपा एमालेसँग दूरी बढाइरहेको एकीकृत समाजवादी एमालेको यस्तो व्यवहारले चिढिएको छ । 

यता, एमालेले भने विश्वासको मतमा तत्काल हतार गर्नु नपर्ने बारेमा स्पष्टीकरण नै दिँदै आएको छ । गत उपनिर्वाचनबाट प्रदेशसभामा प्रवेश गरेका बझाङका दमनबहादुर भण्डारी बुबाको किरियाकर्ममा रहेकाले उनको सपथ भएको छैन । भण्डारीको सपथ पछिमात्र मुख्यमन्त्री विश्वासको मतका लागि प्रस्तुत हुनुपर्ने अडान एमालेको छ । तर वर्तमान अवस्थामै विश्वासको मत लिएपनि सोडारीको सरकारले विश्वासको मत पाउने देखिन्छ । केन्द्रमा सत्ता परिवर्तनको सघन जोडघटाउ चलिरहँदा सुदूरपश्चिममा नेकपा एसलाई सहयोग गर्ने वा नगर्ने भन्ने एमालेको निर्णयले ठुलै राजनीतिक संदेश दिने देखिन्छ । त्यसैले केहि दिनमा राजनीतिमा नयाँ परिस्थितीको विकाश हुनसक्ने आशंकाका साथ एमाले पर्ख र हेरको नीतिमा रहेको बुझ्न कठीन छैन । 

नेकपा एमाले र एकीकृत समाजवादीबीच केन्द्रमै बिगँ्रदो माहोल छ । एमालेसहितको समिकरण भत्काएर कांग्रेससँगको सहकार्यमा नयाँ सत्ता समिकरण बनाउने कसरतमा समाजवादी देखिन्छ । अध्यक्ष माधव नेपालले एमालेसँगको सहकार्य छिटै टुंगिने बताउँदै आएका छन् । अर्कोतर्फ नेपाली कांग्रेसका नेताहरुले एमालेसँग सहकार्य गरेर नयाँ सरकार बनाउने प्रयास गरिरहेका छन् । त्यसैले समस्या सुदूरपश्चिममा देखिएपनि नेकपा एमाले र एकीकृत समाजवादीको अभिव्यक्ती र गतिविधि हेर्दा केन्द्रीय सत्ता समिकरणमै परिवर्तनको संकेत देखा परेको छ । 


 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update