News 24 Television
वामदेवको हारगुहारमा केपीको झटारो  

काठमाडौँ । वामदेव गौतम राजनीतिक जीवनको उत्तरार्द्धमा छन् । एकता महाअभियान भन्दै वामपन्थी एकतामा जोड दिने गरेको दाबी गरेका वामदेव कहिल्यै स्थिर हुन भने सकेनन् । गएको निर्वाचनमा प्रचण्ड–माधवसहितको कांग्रेस गठबन्धनमा जान खोजेका उनले त्यहाँ आफुलाई महत्व नदिएको बुझेपछि उनी मौन बसे । अहिले फेरि उनी एमालेको शरणमा पुग्न सार्वजनिक अपिल गर्न थालेका छन् । 

कुनै बेला नेकपा एमालेमा वामदेवले जता खुट्टा उचाल्छन्, त्यसैले अध्यक्ष जित्छ भन्ने भाष्य थियो । निर्णायक मतसहित रहने वामदेवले ठूला–ठूला भाषण गर्थे । मतकै कारण उनलाई तानातान गर्ने गरिन्थ्यो । तर, एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता र विभाजनमा मध्यस्थता गर्ने भन्दै बीच बाटो समाएका वामदेव चरम संकटमा छन् । नेकपा राष्ट्रिय एकता अभियानमार्फत राजनीति गर्न खोजेका वामदेव अन्ततः एमालेमा आफूलाई फर्काइदेउ भन्दै केपी ओली समक्ष रोनाधोना गर्न पुगेका छन् । 

वामदेवले पहिले एमाले फुटाएर गएको भन्ने आरोप आफूमाथि लागेपनि पार्टीबाट निष्काशन गरेपछि स्थिति अर्कै बनेको र आफू फेरि एमालेमै फर्किएको दाबी गरे । यतिमै नरोकिएका उनले आफूबाट गल्ति भएको र आत्मालोचना गर्नेसम्म भन्न भ्याए । 

वामदेवले एमालेमा फर्काउन कार्यकर्तालाई दबाब दिन अपिल नै गरेपछि अध्यक्ष केपी ओलीले यस्तो छलफल गर्ने फोरम छुट्टै हुने भन्दै व्यङ्ग्यात्मक शैलीमा उनको एकता अभियानलाई शुभकामना नै दिए । 

अस्थिर वामदेव

नेकपा एकता गराएरै छाड्ने दाबी गर्ने गरेका वामदेव स्थिर बस्नै सक्दैनन् । उनी राजनीतिक नैतिकता र इमान्दारिताको समेत ख्याल गर्न खास आवश्यक ठान्दैनन् । तत्कालीन समयमा केपी ओलीसँग मिल्नै नहुने अभिव्यक्ति दिदै नेकपा एकीकृत समाजवादीमा जान तम्सिएका उनलाई माधव–झलनाथले पनि वास्ता नगरेपछि विरक्तिन पुगेका थिए । 

ओलीमाथि सत्तोसराप गर्दै प्रचण्ड–माधवसहितको कांग्रेसी गठबन्धनबाट उम्मेदवार बन्ने तयारी थालेपनि उनले टिकट पाउने स्थिति नबनेपछि उनी ब्याक भए । तर, यता उता गर्न खोज्दा पनि कसैले पत्याउने स्थिति नबनेपछि अन्ततः वामदेव एमालेको शरणमै पर्न तयार बन्न पुगेका छन् । के यसरी उनको राजनीतिक भविष्य उकालो लाग्ला ? राजनीतिक नैतिकताको विषयमा न्याय मिल्ला ? उनको यो भौतारिएको अवस्थाले यस्ता प्रश्न उब्जिएका छन् । ०००

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update