News 24 Television
बाठो बन्न खोज्दा माधवमाथि नै ‘क्रसफायर’, पार्टी नै धरापमा !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल चौतर्फी दबाबमा पर्न थालेका छन् । प्रधानमन्त्री बन्ने असफल प्रयास गरेको आरोप खेपेका माधव नेपाललाई पार्टीकै सांसदहरुले र्‍याखर्‍याख्ती पारेपछि रक्षात्मक बनेका उनलाई प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको पेलानले थप संकटमा धकेलिदिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको सत्ता समिकरणलाई नेकपा एकीकृत साजवादी पार्टीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले छाड्ने र कांग्रेससहितको सत्ता गठबन्धन निर्माण गर्ने आन्तरिक तयारी गर्न थालेपछि प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले सक्रियता देखाए । सत्तामा आउने कांग्रेसको रणनीति कसरी असफल पार्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित गरेका उनीहरुले अन्ततः उपाय जुराए, जसपा फुटाउने । 

कुनै बेला एमालेमा सर्वाधिक मतसहित उपाध्यक्ष जितेका अशोक राई जसपामा किनाराकृत बन्ने नेतामा थिए । उनैलाई लिएर जसमा विभाजनमा गयो । विभाजनमा गएको निवेदन दर्ताको २४ घण्टा नबित्दै निर्वाचन आयोगले दलको मान्यता दियो र सबैतिर जानकारी समेत गराइदियो । 

निर्वाचन आयोगको सक्रियतामा प्रश्न उठे पनि पार्टी विभाजनलाई अशोक राईले नेतृत्वको एकलौटीपना विरुद्धको विद्रोह भनिरहेका छन् । उनले नयाँ ढंगले पार्टी अघि बढ्ने समेत बताइरहेका छन् ।

यसरी जसपा फुटेपछि माधव नेपालको पार्टीभित्र चर्काचर्की चल्यो । माधव नेपाललाई सांसदहरुले थुप्रै प्रश्नहरु मात्रै गरेनन्, यहि समिकरणमा बस्ने सहमति गराउन बाध्य बनाए । चौतर्फी प्रश्न उठेपछि नेकपा एकीकृत समाजवादीले बाहिर आएका चर्चालाई हल्लाको संज्ञा दियो । 

वेदुरामले यस्तो दाबी गरेपनि नेकपा एसका प्रमुख सचेतक मेटमणी चौधरीले साना पार्टी फुटाउन ठुला पार्टीले कोठाभित्र निर्देशन दिने भन्दै माधव नेपालको प्रधानमन्त्री बन्ने आकांक्षालाई भने सांकेतिक रुपमा खुलाइदिए । 

सत्ता समिकरणको उथलपुथल

सत्ता समिकरणमा आफ्नो पार्टीलाई कसैले वास्ता नगरे उथलपुथल पार्छु भन्दै माधव नेपालले दिएका अभिव्यक्ति र प्रधानमन्त्री बन्ने आकांक्षाले भरिएको अभिव्यक्तिलाई धेरैले आश्चार्य ठानेपनि प्रचण्ड–ओलीले यसलाई गम्भीर रुपमा लिएको देखिन्छ । माधव नेपालले चेतावनी दिदै उथलपुथल गर्छु भन्नु नै उनका लागि समस्याको विषय त बनेन ? प्रश्न भने छ ।

माधव उपेन्द्रको असफल सत्ता समिकरण फेर्ने तयारीमा तुषारापात भएपनि उपेन्द्र राजनीतिक जीवनकै कमजोर अवस्थामा पुगेका छन् भने माधव नेपालमाथि समेत सत्ता लोलुपताको आरोप थप पेचिलो बन्न पुगेको छ । 

ओली आक्रामक

राजनीतिक स्थिरता र बलियो राजनीतिक शक्तिको आवश्यकता औल्याउदै आएका केपी ओलीले सत्ता सहकार्यमा रास्वपासहित साना दलमाथि आक्रोशपूर्ण व्यङ्ग्य कसिरहेका छन् । ओलीले अहिले हाहा हुहु गरेकै भरमा मन्त्री बन्ने स्थिति रहेको भन्दै सांकेतिक रुपमा साना ददलहरुमाथि आक्रोश पोखिरहेका छन् । 

प्रचण्ड–ओलीले मिहिन ढंगले सत्ताको अंकगणितलाई पेरबदल गर्न जस्तोसुकै अभ्यास गर्ने देखिएपछि अब माधव नेपाल डराएका मात्रै छैनन्, फतक्कै गलेका पनि छन् । यता, समाजवादी मोर्चामा समेत आवद्ध माधव नेपालमाथि अब प्रचण्डले निर्णायक कदम चाल्न कतै पार्टी विभाजन गराइदिने षडयन्त्र त गर्ने होइनन ? प्रश्न छ । 

माधव नेपालको पार्टीमा झलनाथ खनाल पक्षधरहरु चर्को असन्तुष्टी र निर्णायक कदम चाल्न परे तयार रहेको जानकारी प्रचण्ड–ओली समक्ष पुर्याइरहेको स्थिति छ । यस्तोमा माधवले अब कस्तो नीति अख्तियार गर्लान ? यो रोचक विषय बन्ने देखिन्छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update