News 24 Television
काठमाडौँमा खानेपानीको जहिल्यै समस्या

काठमाडौँ । वर्षौदेखि काठमाडौँबासीले खानेपानीको समस्या भोग्दै आइरहेका छन् । पछिल्लो समय मेलम्चीको पानी समेत वितरण हुन थालेपछि समस्या केही कम भएजस्तो देखिएपनि पानी वितरणमा भने बेथिति छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलको पानी वितरण कार्यतालिका उपत्यकावासीलाई निकै सकस हुने किशिमको छ ।

 केयूकेएलले आफ्नो ट्यांकीको क्षमता कम भएको भन्दै कहिले मध्यरातमा त कहिले दिउँसो पानी वितरण गर्ने गरेको छ । तर, केयूकेएल आफैले बनाएको कार्यतालिका पालना नगर्दा उपभोक्ता हैरानीमा छन् । तालिका अनुसार बिहानै पानी भर्न उठ्यो धारामा पानी आउँदैन्, नउठ्यो पानी भर्नै नपाउने काठमाडौंबासीको साझा समस्या भएको छ । 

काठमाडौं उपत्यकामा खानेपानीको अभाव दशकौं पुरानो समस्या हो र यसको समाधानका लागि कुनै पनि सरकार गम्भीर भएको पाइदैन । खानेपानीको धारामा कुन बेला पानी आउँछ कुनै ठेगान हुँदैन । मेलम्चीको पानी वितरण् हुँदा केही सहज हुने अपेक्षा गरिएकोे थियो तर आधारातमा पानी छाड्दा उपभोक्ता नसुति पानी भर्न बाध्य छन् । 

व्यवस्थापनको त्रुटिका कारण उपत्यकावासीले यसरी खानेपानीमा समस्या भोगिरहेका हुन् । मध्यरातमा पानी आइहालेपनि पम्प लगाएर पानी तानेपछि एउटै टोलमा पनि कतै आउने र कतै पानी नआउने गरेको स्थानीयको गुनासो छ । अपाङ्गता र ज्येष्ठ नागरिकहरूले आफ्नो भागको पानी पनि पाउँने गरेका छैनन् । रातभर निद्रा माया मारेर पानी भर्नु परेका कारण स्थानीयहरूको स्वास्थ्यमा पनि समस्या देखा पर्न थालेको छ । 

उपत्यकाको पानीको माग दैनिक ४७ करोड लिटर रहको छ । तर, काठमाडौं खानेपानी उपत्यका लिमिटेडले करिब २५ करोड लिटर मात्र वितरण गर्छ । हुनतः केयूकेएलले पानी वितरणको तालिका बनाएको छ । तर तालिका अनुसार कहिल्यै पानी वितरण हुँदैन । माग र आपूर्ति बीच अन्तर रहेकाले पनि वितरणमा समस्या भएको लिमिटेडले जनाएको छ । अर्कोतर्फ पानी वितरणमा प्रयोग हुने रिर्जभ वायर प्रायः पुराना छन् । यसकारण केयूकेएले दैनिक पानी वितरण गर्न सक्दैन । 

धारामा पर्याप्त र समयमै पानी नआएपछि उपत्यकावासी जमिनमूनिको पानी, जार वा ट्यांकीको पानीमा आश्रित हुन बाध्य छन् । त्यसैले, काठमाडौँबासीले भोगिरहेको यो समस्यामा सम्बन्धित सबै निकायले एकिकृत पहल गर्न आवश्यक छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update