News 24 Television
प्रधानसेनापतिको तर्क : भारत र चीनसँग झुक्नैपर्छ भन्ने छैन 

काठमाडौँ । पछिल्लो समय विभिन्न कारणले राष्ट्रिय सुरक्षामा आँच आएको चर्चा चल्दै आएको छ । भूराजनीतिक अवस्था, खुला सीमाना, माफियाको चासो, साइबर थ्रेट लगायतका कारण राष्ट्रिय सुरक्षा चुनौति रहेको बहसहरु प्रशस्तै हुँने गरेका छन् । तर प्रधानसेनापति प्रभुराम शर्माले संसदको संघीयता सबलीकरण तथा राष्ट्रिय समितिको बैठकमा देशमा ठूलो सुरक्षा चुनौति नरहेको बताए । 

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रधान सेनापती शर्माले देशमा ठूलो सुरक्षा चुनौति नरहेको बतएका छन् ।  संवेदनशील भूराजनीतिक अवस्था, खुला सीमाना, जलवायु परिवर्तन, श्रम आप्रवास, साइबर थ्रेट, एआई प्रविधिबाट सिर्जित सुरक्षाका केही चुनौतीहरु देखापरेपनि समाधान नै गर्न नसक्ने प्रकारका कुनैपनि चुनौति नरहेको प्रधानसेनापति शर्माको दावी छ । 

कहिलेकाहीँ धार्मिक, सांस्कृतिक तथा जातिय पहिचानको आधारमा केही घटनाहरु हुने गरेपनि त्यस्ता समस्याहरुलाई स्थानीय स्तरमै राजनीतिक दलहरुले मिलाउने गरेको पनि शर्माले उल्लेख गरे । देशको राजनीति तरल अवस्थामा रहने हुँदा नेपाली सेना यसप्रति सधैँ चनाखो भएर बस्ने गरेको शर्माको भनाइ छ । मंगोल नेशनल अर्गनाइजेस र पहिचानवादीहरु बेलाबेलामा आन्दोलित हुने गरेपनि राष्ट्रिय समस्याको रुपमा नरहेको प्रधानसेनापति शर्माले स्पष्ट पारे । त्यस्तै दुर्गा प्रसाईं नेतृत्वको समूहले पनि बेलाबेलामा गतिविधि गरेको भन्दै ती गतिविधिले सुरक्षालाई कुनै असर नपु¥याएको शर्माको भनाई छ ।

प्रधान सेनापति शर्माले अफगानिस्तान र पाकिस्तानमा जारी अस्थिर राजनीतिक वातावरणले नेपालमा केही क्षेत्रमा भने केही न केही असर पारिरहेको बताए । त्यस्तै भारत र चीनबीच दक्षिण एशियाली क्षेत्रमा बढिरहेको प्रभाव बिस्तारको प्रतिष्पर्धा र भारतमा बढिरहेको धार्मिक र सांस्कृतिक राष्ट्रवादको भावना लगायतका कारण क्षेत्रीय शक्ति सन्तुलन र स्थिरतामा प्रभाव पारिरहेको उनको जिकिर छ । म्यानमारको आन्तरिक द्वन्द्वका कारण नेपालमा रोहिङ्ग्या शरणार्थी आएर बसेकाले तीनले भविष्यमा सामाजिक, आर्थिक र धार्मिक समस्याहरु निम्त्याउन सक्ने सम्भावना भने उनको टिप्पणी गरे । 

प्रधान सेनापति शर्माले राष्ट्रिय सुरक्षाका लागि छिमेकी देशहरु भारत र चीनलाई कहिल्यै पनि चिढ्याउनु नहुने तर्क पेश गरे । यद्यपी दुई छिमेकीले नचाहिँदो कुरा गरेमा त्यसको बिरोध भने गर्नु पर्ने शर्माको भनाई छ । नेपालमा युरोपियन युनियन र अमेरिकाको पनि चासो रहेको भन्दै उहाँले सबैलाई सन्तुलन मिलाएर लैजानु पर्ने शर्माले बताए । 

देशको हितका लागि सबै मुलुकसँग वार्ताबाट समाधान खोज्दै अघि बढ्न पनि उनले सुझाव दिए । त्यस्तै नेपाललाई सबैको सहयोग चाहिने उल्लेख गर्दै सन्तुलन मिलाएर काम गर्न संवेदनशील भएर लाग्नु पर्ने पनि प्रधानसेनापतिको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update