News 24 Television
सत्ताको बार्गेनिङ पावर खस्किएपछि संकटमा उपेन्द्र

काठमाडौँ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जनाउँदै संघीय परिषद्का अध्यक्ष अशोक राईको नेतृत्वमा गत आइतबार जनता समाजवादी पार्टी विभाजित भएपछि सरकारको भविष्यको जोडघटाउ शुरु भएको छ । वर्तमान सत्ता गठबन्धनमा रहेको जसपा अध्यक्ष यादव आफै उपप्रधानसहित स्वास्थ्यमन्त्री छन् । विदेश भ्रमणमै रहेकाबेला एक समूहले पार्टी फुटाएपछि धर्मसंकटमा परेका यादव पार्टीको आन्तारिक छलफलमा ब्यस्त छन् । 

संघीय संसदमा १२ सिट सहित वर्तमान सत्ता समीकरणमा बार्गेनिङ पावर बढाएका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव ५ सिटमा खुम्चिएका छन् । ७९ सालको आम निर्वाचनअघि आफूबाटै अलग भएका डा.बाबुराम भट्टराईलाई समाजवादी मोर्चामासमेत रोक्न सफल भएका यादव यतिबेला राजनीतिक संकटमा छन् । जसपाको १२ सिटकै कारण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपेन्द्रलाई हात लिँदा भट्टराई समाजवादी मोर्चाबाट रिङआउट भएका थिए । त्यसैको तुष भट्टराईले प्रधानमन्त्री प्रचण्डसमक्ष अहिलेसम्म पनि पोखिरहेका छन् । केही दिनअघि मात्रै प्रचण्डलाई आफ्नो क्षेत्र दिएर आफूले गम्भीर गल्ती गरेको भट्टराई गोरखामा पुगेर अभिब्यक्ति नै दिएका थिए । 

तर उपप्रधानसहित स्वास्थ्य मन्त्री सम्हालेका यादव भने पछिल्लो समय नेकपा एकीकृत समाजवादीसहित मिलेर प्रचण्ड नेतृत्वको सरकार ढाल्ने योजनामा थिए । सत्ता समीकरण बदल्ने नयाँ खेल भइरहँदा यादव नेतृत्वको जसपाबाट बहुमत सांसदसहित अशोक राई समूहको बर्हिगमनले यादवलाई नराम्रो झड्का लागेको छ । सत्तारुढ दल जसपा नेपालको विभाजनले यादवको मन्त्री पद पनि धरापमा परेको छ । 

पार्टीमा मात्रै असन्तुष्टी नभई दोस्रो पटक स्वस्थ्य मन्त्रीको पद सम्हालेका यादवको काम पनि सन्तोषजनक नभएको गुनासो ब्याप्त छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५७ औँ बैठकमा भाग लिन भन्दै यादव अमेरिका पुगेकाबेला राई समूहले पार्टी फुटाएको हो । यादवबाट अलग भएका राई समूहलाई निर्वाचन आयोगले समेत नयाँ दलको मान्यता दिइसकेको छ । आयोगले मंगलबार मात्रै सूचना प्रकाशित गरी विभाजित जसपाको केन्द्र, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत थालिसकेको छ । 

पार्टी विभाजनपछि हतार हतार फर्किएका यादवले भने मंगलबारदेखि आन्तरिक छलफल थालेका छन् । कानून अभावमै पनि निर्वाचन आयोगले राईको समूहलाई नयाँ दलको मान्यता दिएपछि यादव असन्तुष्ट छन् । माधव नेपाल र उपेन्द्रले कांग्रेससँग मिलेर सरकार ढाल्ने प्रयास गरेकाले पार्टी फुटाउनुपरेको असन्तुष्ट समूहले बताइरहेका छन् । विभाजित समूहले वर्तमान सरकारको समर्थन गर्ने बताइरहँदा यादवले के गर्लान् भन्ने अन्योलता छ । यो विभाजनले कांग्रेससँग मिलेर सत्ता ढाल्ने यादवको प्रयास त असफल भएको छ नै नयाँ समीकरणमा पनि यादवको बार्गेनिङ पावर खुम्चिन पुगेको छ ।  

यसअघि २०७५ सालमा डेढ वर्ष स्वास्थ्य मन्त्री पद सम्हाल्दा यादवले स्वास्थ्य क्षेत्रको सुधार र विकासमा खासै चासो नदेखाएको आरोप लाग्ने गरेको छ । डेढ वर्षकोे कार्यकालमा करिब डेढ दर्जन बढी बैदेशीक भ्रमण गरेका थिए । पछिल्लो समय पनि उनी वैदेशिक भ्रमणमै रमाइरहेका छन् । मधेसमा विभिन्न शक्तिहरु उदाइरहँदा यादवको राजनीतिक भविष्य कसरी अगाडि बढ्ला, हेर्न बाँकी छ । 

 

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ११:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update