News 24 Television
सांसद सुहाङ नेम्वाङले लिए शपथ, के छन् उनका प्राथमिकता ?

काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य (सांसद) सुहाङ नेम्वाङले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सङ्घीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष नेम्वाङले शपथ लिएका हुन् ।

सभामुख घिमिरेले नेम्वाङलाई सांसदको प्रतिक चिन्ह प्रदान गरेका थिए। सो अवसरमा सचिवालयका कर्मचारीहरुले सांसद नेम्वाङलाई नेपालको संविधान/ऐन/नियमका सामग्री प्रदान गरेका थिए ।

शपथ ग्रहणपछि नेम्वाङले सांसदको रूपमा इलामेली जनताका समस्या समाधान गर्नमा ध्यान दिए बताए । उनले आवश्यक कानुन परिमार्जन र सुशासन प्रवर्द्धनमा समेत समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिक्रिया दिए ।

शपथ ग्रहण कार्यक्रममा उपसभामुख इन्दिरा राना, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, रक्षामन्त्री हरिप्रसाद उप्रेती, विभिन्न राजनीतिक दलका प्रमुख सचेतक, संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयलगायत  उपस्थित थिए । 
    
यही वैशाख १५ गते सम्पन्न इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार नेम्वाङ प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । उनी आफ्ना पिता स्व. सुवाष नेम्वाङको उत्तराधिकारीका रुपमा उनकै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १२:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update