News 24 Television
कोशीमा नयाँ सरकार गठनको आह्वान, केदार अदालत जाने

काठमाडौं । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम उनले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । 

नयाँ सरकार गठनका लागि खापुङले वैशाख २८ गते ५ बजेसम्मको समय दिएका छन् । प्रदेशसभामा बहुमत जुटाउनसक्ने कुनै पनि सदस्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न उनले भनेका छन् । 

सरकारमा सहभागी माओवादी केन्द्र र सरकारलाई समर्थन गरेको नेकपा एमालेले गत चैत २६ गते सरकारलाई दिएको विश्वासको मत र समर्थन फिर्ता लिएको थियो । 

मुख्यमन्त्री कार्कीले मंगलबार राति १२ बजेसम्ममा प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो । तर, उनले विश्वासको मत नलिई राजीनामा समेत दिन अस्वीकार गरेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन् । 

प्रदेश सभा सचिवालयले संकल्प प्रस्तावले गरेको निर्देशन अनुसार मुख्यमन्त्रीलाई त्यसको जानकारी गराएको भए पनि विश्वासको मत लिने प्रस्ताव नआएको पत्र प्रदेश प्रमुखलाई बोधार्थ दिएर एमाले र माओवादी संसदीय दललाई दिएको थियो । 

प्रदेश प्रमुख खापुङले नयाँ सरकार गठनको आह्वान गरेपछि मुख्यमन्त्री कार्कीले एउटा सरकार हुँदाहुँदै अर्काे सरकार गठनको आह्वान गर्नु असंवैधानिक कदम भएको आरोप लगाएका छन् । उनी, प्रदेश प्रमुखको कदमविरुद्ध सर्वाेच्च अदालत जाने तयारीमा रहेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update