News 24 Television
अशोक राईलाई ठीक पार्ने योजना बुन्दै उपेन्द्र यादव

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले पत्रकार सम्मेलन गर्दै पार्टी विभाजनलाई असंवैधानिक घोषणा गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध अदालत जाने मात्रै बताएका छैनन्, उनले निर्वाचन आयोगमाथि समेत प्रश्न उठाएका छन् । आफुविरुद्ध षड्यन्त्र भएको ठानिरहेका उनले अब कस्ता कदमहरु चाल्लान् ? अनि जसपा फुटको विषयले सत्ता राजनीतिको भावि परिदृष्य कस्तो बनाउने देखिन्छ त ? 

जनता समाजवादी पार्टी नेपाल अशोक राईको नेतृत्वमा ७ सांसदसहित विभाजन भयो । राईले नेतृत्व गरेको पार्टीको नाम जनता समाजवादी पार्टी राखिएको छ । जसपा नेपाल विभाजन पश्चात अहिले विभिन्न कोणबाट विश्लेषण एवम् टिप्पणी भइरहेका छन् । विभाजनपछि अनेक प्रतिक्रिया आएपनि विभाजनको मूल कारण भने उपेन्द्रको कार्यशैलीलाई नै लिइएको छ । अशोक राईले उपेन्द्रमाथि विभिन्न आरोप लगाउदै उनको प्रवृत्तिकाविरुद्ध लड्न पार्टी विभाजन गरिएको बताइरहेका छन् ।

जसपा विभाजनपछि उपेन्द्र यादवमाथि कांग्रेससँग मिलेर सरकार निर्माण गर्न खोजेको आरोप लाग्यो । त्यो आरोप सत्ता गठबन्धनबाटै फैलिएको थियो । सत्तारुढ दलका शीर्ष नेताहरुबाटै यस्तो प्रचार गरिएपनि उपेन्द्र यादवले भने यहि सरकारलाई समर्थन कायम रहने दाबी गरिरहेका छन् । 

उपेन्द्रले आयोजना गरेको पत्रकार सम्मेलनमा अशोक राई नेतृत्वको पार्टी बिभाजन कुनै कानूनी वा वैचारिक आधारमा नभई सत्ता स्वार्थमा भएको उपेन्द्रको आरोप छ ।

अशोक राई नेतृत्वको विभाजनलाई अदालतमा चुनौति दिने बताएका उपेन्द्रले निर्वाचन आयोगले दल दर्ताको मान्यता दिने विषयलाई समेत आश्चर्यको रुपमा लिएको बताए । 

उपेन्द्रले आरोप लगाएपनि दलको मान्यता पाइसकेको अशोक राई नेतृत्वको जनता समाजवादीले भने राजनीतिक रुपमा आफ्नो पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई नै समर्थन रहने बताइरहेको छ । 

विभाजनको कारण र औचित्य

जनता समाजवादी पार्टी नेपाल विभाजनको सैदान्तिक एवम् राजनीतिक एजेण्डा जस्ता खास कारण भने देखिन्न । सत्ता स्वार्थ र भूराजनीतिक कारणले जसपा विभाजनमा पुगेको प्रष्ट देखिन्छ । तर, अशोक राई पक्षले उपेन्द्र यादवको व्यक्तिगत चाहना र पार्टीलाई मिलाएर लैजाने क्षमता नभएको कारण विभाजन रोज्नु परेको दाबी गरिरहेको छ । यसलाई पुष्टी गर्ने आधारहरु पनि देखिन्छन् । विजयकुमार गच्छदारदेखि बाबुराम भट्टराईसम्म यो पार्टीमा रहन नसकेको स्थितिलाई हेर्दा उपेन्द्रको शैलीमा प्रश्न गर्ने ठाउँ भएपनि उपेन्द्र इतिहासमै कमजोर अवस्थामा पुगेका छ्न । विभाजनको कारण खुल्दै जाला तर, यी पार्टी विभाजनको औचित्य भने कसरी पुष्टी होला ? यो अहम् प्रश्न बनेको छ । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update