News 24 Television
रविसँग किन बिरक्तिए ओली ? बेकारका मन्त्री भन्दै उडाए

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पछिल्लो समय राजनीतिक दल र व्यक्तिहरुमाथि अनेक टिप्पणी गर्न थालेका छन् । नयाँ दल र नेताहरुलाई सरकारमा ल्याउनेदेखि उनीहरुमाथि अनेक टिप्पणी गर्दै दुत्कार्ने ओलीले पछिल्लो समय नयाँ अनुहार र उनीहरुको राजनीतिक छलाङप्रति आक्रोश पोख्न थालेका छन् । 

एमाले अध्यक्ष केपी ओली तीखो, रुखो र प्रष्ट बोलेर विभिन्न क्षेत्रमा आफ्नो प्रभाव फैलाउने काम गरिरहन्छन् । पार्टीमा आफूबाहेकलाई माथि आउन दिने बाटो नै लगभग बन्द गरिदिने गरि अघि बढिरहेका ओलीले पछिल्लो समय नयाँ दल, अनुहार र उनीहरुले लिएको राजनीतिक उचाई उनलाई बाध्यताबाहेक रत्तिभर मन परेको देखिन्न । यस्तोमा ओलीले केहिदिन अघिमात्रै सरकारबाट धेरै आशा गर्न नसकिने शैलीमा हाहा हुहु गरेकै भरमा मन्त्री बन्ने र बनाउनैपर्ने स्थिति आएको टिप्पणी गरिदिए । 

हाहा हुहु गरेकै भरमा को नेता भए ? को को मन्त्री भए ? यो मुलुकको राजनीतिमा सहजै शंका गर्ने पात्र र दलहरु नयाँ नै हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई ओलीको यो अभिव्यक्तिले इंगित रहेको भनिएपनि ओलीको यस्तो अभिव्यक्ति विशेषगरी रास्वपा लक्षित देखिन्छ । यस्तै अभिव्यक्तिलाई ओलीले फेरि कपिलवस्तुमा पुगेर पनि दोहोर्याएका छन् । कम क्षमता भएकालाई सरकारमा ल्याउनैपर्ने बाध्यताका कारण समस्या सिर्जना भएको उनको दाबी छ ।  

ओलीले यसरी अभिव्यक्ति दिनुपर्ने स्थिति किन आइलाग्यो ? यसबारे अनेक कोणबाट प्रश्न गरिएपनि उनी अरुको राजनीतिक अस्तित्व सहजै स्वीकार गरिहाल्ने नेतामा पर्दैनन् । कुनैबेला माओवादीप्रति समेत ओली यस्तै टिप्पणीमा उत्रिन्थे । तर उनै ओलीले माओवादीसँग पार्टी एकता नै गरेका थिए । त्यो एकता टुटेकोमा ओलीमा अहिले पनि पश्चाताप भने देखिन्छ । तर, आफू हारेको अर्थमा भन्दा पनि अरु कमजोर भएको शैलीमा उनी आफ्नो अभिव्यक्ति दिन्छन् ।   

किन ओली यस्तो बोलिरहन्छन् ?

ओलीले कम क्षमता भएका वा हाहा हुहु गरेकै भरमा मन्त्री बन्नेहरु भनेर गरेको टिप्पणी सरकार टिकाउन गर्नुपरेको मेहनतलाई समेत लिइएको छ । एमाले कांग्रेससँग सरकार बनाउने मुडमा रहेपनि स्थिति सहज देखिन्न । यस्तो भएकाले पनि सहज रुपमा बहुमत जुटाइराख्ने स्थिति पनि देखिन्न । 

रास्वपालाई च्याप्दा पनि आफ्नो राजनीतिक भविष्यमाथि प्रश्न उठिरहेको उनलाई ज्ञान छ । तर, नच्याप्दा बहुमत नजोगिने र कांग्रेसको प्रयास सार्थक हुने देखिन्छ । यस्तो ओली गर्न चाहन्नन् । तर, सरकारमा भर्खरै उदाएका पार्टी र व्यक्तिलाई राख्दा समस्या भइरहेको उनले महशुष गरेका छन् । त्यसैले पनि ओलीले यस्तो बोल्न थालेको बताइन्छ । 

हाहाहुहु भन्दै ओलीको क्रोध किन ?

सरकारमा ल्याएपनि मन्त्रीहरुले गर्ने निर्णय र निर्णय पहिले क्यामेरा तेस्र्याउने प्रवृत्तिका कारण ओली आजित बनिसकेको बताइन्छ । ओली कुटनीतिक रुपमा अघि बढ्ने र एमालेबाहेक दललाई मिनिमाइज गर्न चाहने व्यक्ति भएकाले पनि अहिले सरकारमा रहेकाहरुले अनेक फण्डा गर्न जानेको र काम कम प्रचार ज्यादा गर्दा उनको कन्पारो तातिने गरेको एमालेका शीर्ष नेताहरु नै वताउने गरेका छन् । यसकारण हाहा हुहु गर्नेहरु सरकारमा महत्वपूर्ण जिम्मेवारीमा आएको भन्दै ओली क्रोधित देखिन्छन् । 

विरोधपछि पनि समर्थन किन ?

विरोध पनि जारी राख्ने र समर्थन पनि जारी राख्ने ओलीको रणनीतिमाथि एमालेपंक्तिमै प्रश्न भएपनि ओलीसामु चुइक्क कोही बोल्न सक्दैनन् । त्यसैले ओलीले राखेको प्रस्ताव र बोलेका कुरा नै पार्टीको बटमलाइन बन्छ । यस्तोमा ओलीले बाध्यताले च्याप्नैपर्ने तर, विरोध पनि जारी राख्दै गर्ने नीति अख्तियार गरेको बताइन्छ । जसकारण कडा समर्थनकाबीच पनि उनले जनतामा जाँदा चाँहि तीन नयाँ दलहरुको कडा प्रतिरोध गर्ने गरेका छन् । 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update