News 24 Television
कांग्रेसको बटमलाइन- संसदीय छानबिन समिति गठन

काठमाडाैँ । सहकारीको रकम अपचलनसम्बन्धमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नताको आरोप लगाउँदै आएको नेपाली कांग्रेसले यसबारे निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग पुनः दोहोर्याएको छ । 

    कांग्रेस संसदीय दलको आज बसेको बैठकले सहकारीमा उहाँको संलग्नताको प्रमाण रहेको जिकिर गर्दै सो सम्बन्धमा स्वतन्त्र र निष्पक्ष छानबिन होस् भन्ने सुनिश्चितताका लागि संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    सो बैठकले यो मुद्दा अब कांग्रेसको मात्र नभएर सम्पूर्ण जनताको चिन्ता, चासो र सरोकारको विषय भइसकेको भन्दै संसदको प्रमुख प्रतिपक्षी दल समेत रहेको कांग्रेसले यसअघि यसै विषयमा आफ्नो मागको सम्बोधन नभई संसद अन्त्य भएकाले आजदेखि सुरु हुने संसदको बैठकमा पनि सोही माग राख्ने प्रमुख सचेतक लेखकले बताए ।

    सो बैठकमा आजदेखि सुरु हुने सङ्घीय संसद अधिवेशनमा पार्टीको तयारीका सम्बन्धमा पनि छलफल भएको थियो । तत्काल संसदीय छानविन समिति गठन नभएमा यसबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठकहरु नै प्रभावित हुनसक्ने पनि कांग्रेसले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update