काठमाडौं । गितेन्द्रबाबु राई अर्थात जीबी सहकारी ठगीमा मुछिएका र सबैभन्दा बढी खोजीमा रहेका पात्र हुन् ।
जीबी राई मलेसियामा लोकेट भएपनि उनलाई नेपाल झिकाउन सकिएको छैन् । जीबीको कम्पनीका पूर्वसाझेदार मुलुकको उपप्रधान एवम् गृहमन्त्री नै बनेको बेला समेत उनी पक्राउ नपर्ने विषय पेचिलो मात्रै बनेको छैन्, अब उनी कसरी पक्राउ परेनन् भन्ने विषयमा समेत गलफत्ति हुने देखिएको छ ।
मुलुकका विभिन्न ठाउँउमा सहकारी खोलेर सर्वसाधारणको अर्बाैं रकम वचत झ्वाम पार्ने गितेन्द्रबाबु राई जीबीले बनाएका सहकर्मीको लिस्ट र गरेको रकम अपचलनको विषय राज्य शक्तिको दुरुपयोगको श्रृंङखला र आरोपसम्म पुगेको छ ।
सहकारी ठगी गरेर फरार रहेका जीबी राई पक्राउ किन गरेन भन्दै कुर्लिने उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले आफू सरकारको नेतृत्वमा आएपछि कहिलेई जीबी पक्राउ गरियो भन्दै त कहिलेई जीवी पक्राउ पर्नै लागेको भन्ने जस्ता आशययुक्त सूचना चुहाउने गर्दै आएका थिए ।
तर, जीवी अहिलेसम्म पक्राउ पर्न नसकेपछि रविको बोली फेरिएको छ । जीबीलाई अघिल्लो सरकारले भगाएको भन्दै भागेको व्यक्तिलाई पक्राउ गर्ने विषय कठिन बनेको बताउन थालेका छन् रवि ।
गृहमन्त्रीले यस्तो दाबी गरेपछि कांग्रेसले प्रतिप्रश्न गर्दै यसको जिम्मा अब प्रधानमन्त्री प्रचण्डले लिनुपर्ने बताइरहेको छ । कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीले जीबी राईको विषयमा जवाफ दिनुपर्ने बताएका छन् ।
कांग्रेस–रास्वपा नोकझोकमा गगन–रवि
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सहकारी ठगी प्रकरणमा संसदीय समिति गठनको माग गरिरहेको छ । सहकारी ठगीमा रवि लामिछानेको संलग्नता पुष्टी हुने आधार रहेको र उनी सहकारी ठगीमा जीबीसँगै संलग्न रहेको आरोप कांग्रेसले लगाइरहेको छ।
कांग्रेसले लगाइरहेको आरोपमा संसदीय समिति बनाएपनि हुने तर आफूलाई संसदमा बोल्न दिनुपर्ने भन्दै रवि लामिछानेले माग राखिराखेका छन्।
रविले संसदमा बोल्न पाउनुपर्ने आवाज उठाइरहेपनि कांग्रेसले उनलाई संसदमा बोल्न दिने छाँट भने देखाइरहेको छैन् । यस्तोमा गगन र रविबीच कडा वाक युद्ध जारी छ ।
सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टी गरे राजनीति नै छाड्ने भन्दै रविले गगनलाई कडा शब्दमा चुनौति दिएका छन् ।
रविको यस्तो चुनौतिपछि गगन थापाले पनि आफू तयार नै रहेको भन्दै छानविन समितिबाट किन डराएको भन्दै प्रश्न गरिरहेका छन् । कांग्रेस महामन्त्रीले राजनीति छाड्ने विषय सामान्य भएको दाबी गरेका गगनले पुष्टी नहुने कुरा गरेर कांग्रेसले वेफाइदाको काम किन गर्छ समेत भनेका छन् ।
कांग्रेसले रविमाथि संगिन आरोपहरु लगाइरहेको छ । प्रहरी अनुसन्धान प्रभावित पारेकोदेखि नवलपरासीमा अनुसन्धान गर्ने प्रहरी अधिकृत गंगालाल अस्पताल भर्ना हुने गरि के के गरियो भन्दै गगनको प्रश्न समेत छ ।
जीबी किन बने टाउको दुखाई ?
गोरखा मिडिया प्राली अन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टेलिभिजनमा सहकारीको धेरै रकम अवैध ढंगले ल्याइएको देखिन्छ ।
प्रहरीले अभियोजन गरेको अभियोगपत्र होस वा अन्य अध्ययन अनुसन्धान प्रतिवेदन नै किन नहुन, ग्यालेक्सीमा रकम ल्याइएको विषय छिपेको छैन् ।
जुन कम्पनीको सदस्यमा रवि समेत थिए । यतिमात्रै नभई रविको नाममा समेत रकम आएको आरोप लागिरहेको बेला जीबी रविका लागि खतराको पात्र बन्न पुगेका छन् ।
जीबी मलेसियामा लुकेर बसेको बताइन्छ । यस्तोमा जीबी पक्राउको विषय किन लम्बेतान बनिरहेको छ ? आशंका यसतर्फ समेत देखिन्छ ।
