News 24 Television
षड्यन्त्र गर्न खोज्दा आफैँ भित्तामा पुगे उपेन्द्र 

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सत्ता राजनीतिबाट किनाराकृत हुन थालेका छन् । मधेस आन्दोलनपछि चम्किएका उपेन्द्र राजनीतिक जीवनकै कठिन मोडमा मात्रै पुगेका छैनन्, उनी विखलबन्दमा समेत परेका छन् । पार्टी विभाजनपछि मधेस सरकारबाट माओवादी केन्द्र र एमाले बाहिरिएपछि अब उपेन्द्र के गर्लान ? के उपेन्द्रले अब नयाँ राजनीतिक लाइन अघि सार्लान ? प्रश्न पेचिलो छ । 

उपेन्द्र यादव । मधेसको राजनीतिमा कुनै समय एकलौटी राज गर्ने र सत्ता भोगमा किर्तिमानी नै कायम गर्ने पात्र । तर, यतिबेला पूर्वप्रधानमन्त्रीलाई समेत आफ्नो कनिष्ठ बनाउन सक्ने उपेन्द्र राजनीतिक जीवनको कठिन मोडमा पुगेका छन् । सत्तामा हुँदाहुँदै सत्ता विरोधी षडयन्त्र गरेको आरोप खेपिरहेका उनी संकटले घेरिएका छन् । उपेन्द्रको पार्टी विभाजनमात्रै भएको छैन्, मधेस सरकारबाट समेत हात धुनुपर्ने स्थिति आइपुगेको छ । तर, उनी पार्टी विभाजनलाई लोभीपापीको हत्कण्डा र लाभको हिसाब भनिरहेका छन् । 

यता जसपा नेपालका १२ सांसदमा ७ जनालाई लिएर पार्टी विभाजन गराएका अशोक राईले उपेन्द्रलाई स्वेच्छाचारी र व्यक्तिवादमा रमाउने नेता भनिरहेका छन्  । वैचारिक मतभेदभन्दा पनि उपेन्द्रको हुकुमी शैलीका कारण पार्टी फुटेको राईको दाबी छ । 

अशोक राईले उपेन्द्रमाथि लगाएका आरोप विस्तारै खुल्दै जालान तर, तत्काल उपेन्द्र सत्ताविहीनताको स्थितिमा आइपुगेका छन् । उपेन्द्र विदेशमा हुँदै पार्टी फुटेपछि उनले सक्रियता बढाए । प्रधानमन्त्री प्रचण्डसँग छलफलपछि सरकारलाई दिएको समर्थन कायम रहने दाबी पनि गरे । 

उपेन्द्रको यस्तो दाबीमा एमाले अध्यक्ष केपी ओलीले सांकेतिक रुपमै भएपनि जसपा विभाजनको कारण खुलाइदिए । सत्ता समिकरण फुटाउन उपेन्द्रले चलखेल गरेको भन्दै ओलीले पार्टी विभाजनको विषयलाई उजागर गरिदिएका थिए । 

पार्टी विभाजनपछि उपेन्द्र एकपछि अर्को गर्दै एक्लिने र सत्ताविहीनताको स्थितिमा पुग्दैछन् । जुन सन्देश मधेस प्रदेशको सरकारबाट छनक प्रष्ट भएको छ । 

मधेसमा के भयो ?

मधेसमा विकास भइरहेको राजनीतिले अब सरकारको नेतृत्व एमालेको पोल्टामा जाने सम्भावना बढेको छ । संविधानतः मधेसका मुख्यमन्त्रीले समर्थन फिर्ताको ३० दिनभित्र विश्वाासको मत लिनुपर्ने हुन्छ । प्रष्ट अल्पममा परेका मुख्यमन्त्री सरोजकुमार यादवले के गर्लान ? यो गम्भीर प्रश्न छ । तर, एमालेले भने आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताइरहेको छ । यता, माओवादी केन्द्रले भने भ्रष्टाचार बढेपछि सरकारबाट बाहिरिएको प्रतिक्रिया दिएको छ ।

सरकारबाट एमाले माओवादी केन्द्र बाहिरिएपनि मुख्यमन्त्री यादवले भने सरकार विस्तारमा लागेका छन् । अल्पमतमा परेपनि उनले सरकारलाई अघि बढाउने दाबी गरिरहेका छन् ।

मधेसबाट किन बाहिरिए एमाले–माओवादी ?

मधेस सरकारबाट एमाले माओवादी केन्द्र बाहिरिनुको कारण हो, उपेन्द्रलाई केन्द्रको सत्ता समिकरणबाट हटाएर अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई सत्तामा ल्याउने काम । अशोक राईले पार्टी विभाजन गर्ने विषयदेखि निर्वाचन आयोगले दिएको मान्यतासम्म हेर्दा पनि जसपा सत्ताको कोपभाजनमा परेर फुटेकोमा शंका छैन् । 

तर, उपेन्द्रले पार्टी फुटलाई पुष्टी गर्ने आधार दिएर जसपाको विचार सिद्धान्तलाई बाहिर ल्याउनै सकेको देखिन्न । पार्टी विभाजनको कारण उपेन्द्रले सत्ता समिकरण फेर्न खेल्न थालेको भूमिकालाई नै कारक बनाउन खोजिएको छ । जुन भाष्य काट्ने गरि उपेन्द्रले प्रष्ट पार्न सकेका छैनन् । 

मधेसमा वर्चस्व गुमाउदै जसपा

संघीयतापछि मधेसको नेतृत्व उपेन्द्रको पार्टीले नै गर्दै आएको थियो । मधेस सरकारमा नेतृत्व दिइरहेको जसपा अन्ततः अब संकटमा फसेको छ । सरकार निर्माणमा निर्णायक भूमिका खेल्ने स्थिति कमजोर बनिरहेको छ । 

जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दुबैसँग राम्रो सम्बन्ध नरहेको जसपालाई अब सरकारको नेतृत्व मिल्ने स्थिति छैन् । कांग्रेसको समर्थनले सरकारलाई बहुमत पुग्दैन् । यतिमात्रै नभई अब मधेसमा जसपाका सांसदहरुले अशोक राई नेतृत्वको पार्टीमा सनाखत गर्ने स्थिति थप बढ्नेछ । यसरी हेर्दा जसपाले मधेसमा गरिरहेको नेतृत्व र वर्चस्व सहजै गुमाउने भएको छ । 

एमाले–माओवादी केन्द्रको मुभ

उपेन्द्र यादव प्रधानमन्त्री प्रचण्डको पार्टी समेत रहेको समाजवादी मोर्चामा छन् । तर, मोर्चाभन्दा सत्तालाई केन्द्रमा राख्दै प्रचण्डले आफूविरुद्ध उपेन्द्रले चालेको भनिएको षडयन्त्रलाई परास्त पार्न मधेसबाट पार्टीलाई ब्याक गराएका छन् । छिटोछिटो एमाले माओवादी बाहिरिनुको कारण हो, निर्वाचन आयोगमा अशोक राई नेतृत्वको पार्टीमा धेरै सांसदको सनाखत गराउने उद्देश्य । 

सत्ताको पछाडी कुद्नेहरुले अब उपेन्द्रको साथ छाड्ने र अशोक राईको पार्टी रोज्ने र यहि कारण मधेसमा एमाले नेतृत्वको सरकार सहजै बन्ने अपेक्षा सत्तापक्षको छ । यस्तोमा एमाले माओवादी केन्द्रले चालेको मुभले उपेन्द्रलाई थप धक्का लाग्ने पक्का छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update