News 24 Television
प्रचण्ड–विप्लवको नयाँ डिजाइन, के हुँदैछ उथलपुथल ?

काठमाडौँ । संसदीय दलदलमा पार्टीलाई पुर्याएको भन्दै दीर्घकालीन जनयुद्धबाट जनताको मुक्तिका लागि लड्ने भन्दै प्रचण्डलाई छाडेका नेत्रविक्रम चन्द विप्लव पछिल्लो समय यही दलाल व्यवस्थाको साक्षी बन्ने तयारीमा छन् । आगामी चुनावमा भाग लिनेदेखि प्रचण्डसँग एकता गर्ने तयारीमा रहेका विप्लवले गतिको सिद्धान्तलाई हेर्नुपर्ने बताइरहेका छन् । विप्लवले गतिको सिद्धान्तसँग आफ्नो राजनीतिक मुभलाई जोडिरहँदा के उनले भने जस्तै संसदबाट नै परिवर्तन सम्भव छ त ? यो बहसको विषय बनेको छ । 

माओवादी जनयुद्धमा सरिक भएपछि चर्चामा आएका नेता हुन, नेत्रविक्रम चन्द ’विप्लव’ । विप्लवले प्रचण्डसँग मात्रै सम्बन्ध विच्छेद गरेनन्, उनले वैकल्पिक राजनीति गर्ने भन्दै नयाँ उद्घोष समेत गरेका थिए । पार्टी विभाजनपछि विप्लवले निरन्तर चुनाव बहिस्कारको रणनीति अख्तियार गरिरहे । अहिले अघोषित चुनावमा जानेबाहेकका चुनाव उनले बहिस्कार गरिरहेको अवस्था छ । 

चुनाव बहिस्कारको पछाडीको कारण प्रस्तुत गर्दा उनीहरु संसदीय व्यवस्थालाई दलाल पूँजीपति वर्गले अगाल्ने र चुनावले जनताको मुक्ति सम्भव नहुने दाबी गर्थे । तर, अब विप्लव फेरिएका छन् । आगामी निर्वाचनलाई उनले उपयोग गर्ने भएका छन् । 

चुनावलाई उपयोग गर्ने भन्दै आगामी चुनाव लड्ने दाबी गरिरहेका विप्लव अझैं पनि संसदलाई दलाल व्यवस्था भने भनिरहेका छन् । तर, मिडल क्लास अर्थात (मध्यम वर्ग)लाई समेटेर क्रान्ति गर्न चुनाव उपयोग गर्ने उनको प्रष्टोक्ति छ । 

चुनावलाई रणनीतिक मोर्चाको रुपमा लिनुपर्ने दाबी गरेका विप्लवले बन्दुक नै लडाई हो भन्दै जाँदा एक्लै हुनुपर्ने स्थिति आउन सक्नेतर्फ समेत सचेतताको आवश्यकता रहेको बताइरहेका छन् । तर, ०८४ मा चुनाव नहुन पनि सक्ने डर उनीमा देखिन्छ । 

चुनावपछि के गर्ने ? सरकारमा जाने वा नजाने ? यसमा उनी प्रष्ट नभएपनि परिस्थितिको विश्लेषण गर्नुपर्ने बताइरहेका छन् । तर, यो व्यवस्थाले नेपाललाई उभो लगाउन नसक्ने र सुखी नेपाली समृद्ध नेपाल बन्न नसक्नेमा भने उनको जोड छ । 

संसदमा यूटर्न कसरी ?

संसदीय व्यवस्थाले मुलुकलाई जर्जर पारेको दाबी गर्ने विप्लव नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको अन्तिम तयारीमा देखिन्छन् । बालुवाटार आउजाउ मात्रै बाक्लिएको छैन्, उनी पार्टी एकता गरेर माओवादी आन्दोलन पुर्नजारगित गर्नुपर्नेमा जोड दिइरहेका छन् । विद्रोह र क्रान्ति गर्ने उद्घोष गरेका विप्लवले गरेका राजनीतिक प्रयोग सफल हुन नसकेपछि उनलाई अन्ततः प्रचण्डको साथमा रहेर नयाँ योजना बनाउने तयारीमा जुट्नैपर्ने बाध्यता आईलागेको देखिन्छ । 

एकीकृत जनक्रान्ति भने पनि पार्टी विभाजन र शक्ति क्षयिकरण रोक्न नसक्दा थप कमजोर बनिने र जनताबाट टाढिने हुनाले पनि उनी समयमै सचेत बन्ने प्रयत्नमा जुटेका छन् । हुनत, प्रधानमन्त्री प्रचण्डले अहिले पनि संसदमा आफू पूर्ण रुपमा नआएको दाबी गर्ने गरेका छन् । तर, उनी संसदका ठूला खेलाडी बनिसकेका छन् । यस्तोमा अब विप्लवपनि प्रचण्डकै बाटोमा लम्किएका कारण उनी कस्तो राजनीतिक बाटो समात्ने गरि अघि बढ्लान् भन्ने आमचासो थप बढेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update